
बुधवार , आषाढ १६, २०७८
भैरहवा, १६ असार ।
अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान प्रतिष्ठानद्वारा सञ्चालित नेपालमा कोभिड–१९ प्रभावितका लागि राहत तथा सहयोग कार्यक्रमसम्बन्धि अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले सरकारद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरुमा संस्थाले सहयोग गर्दै आएको बताइन् । उनले प्रोजेक्ट होपको सहयोगमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका १३ वटा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । कार्यकारी निर्देशक थापाले रुपन्देहीको रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री, तीन महिनाका लागि निःशुल्क खाना तथा कोभिड–१९ का कारण मृत्यु भएमा मृतकको दाहसंस्कारका लागि परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिइन् । कोरोना महामारीको पहिलो लहरमा प्रतिष्ठानले आफ्नो भवन क्वारेन्टिन र होल्डिङ सेन्टरको लागि उपलब्ध गराएको उनले बताइन् । संस्थाले १८ महिने ल्याब असिस्टेन्ट, ३ वर्षे ल्याब टेक्नीसियन र फर्रेष्ट्री कार्यक्रम सञ्चालन गरेको बताइन् । त्यस्तै प्रतिष्ठानले वातावरण संरक्षणको क्षेत्रमा समेत काम गर्दै आएको उनको भनाइ थियो ।
त्यस्तै प्रोजेक्ट होप अन्तर्गत प्रकोप, पूर्वतयारी तथा प्रतिक्रियाका निर्देशक थोमस ब्रेन कोटरले नेपालको परिस्थितिको विषयमा विश्व नै जानकार रहेको बताए । उनले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले उदाहरणीय कार्य गर्दे आएको बताए ।
त्यसै गरी प्रोजेक्ट होप अन्तर्गत आपतकालिन प्रतिक्रियाकी टिम लिड इमलिजा डुकोभोस्कीले प्रतिमान नीमा स्मृति प्रतिष्ठानले स्वास्थ्यसहित विभिन्न क्षेत्रमा राम्रो काम गरेको बताइन् ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. का निर्देशक डा. अमित चतुर्वेदीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी आवश्यक रहेकोमा जोड दिए । उनले स्वास्थ्य उपकरण चलाउन आवश्यक जनशक्ति आवश्यक रहेको बताए ।
अग्रज पत्रकार चेतन पन्तले कोरोनाविरुद्धको खोप लगाउन नपाएका नेपाली नागरिकलाइै खोप उपलब्ध गराउन प्रोजेक्ट होपले अमेरिकी सरकारसंग पहल गर्नुपर्ने बताए । ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij