२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

लायन्स देउरालीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग

बिहिवार , आषाढ १७, २०७८

बुटवल, १८ असार । 
अर्घाखाँची छत्रदेवका मिर्गौला रोगबाट पीडित एक युवाको उपचारका लागि लायन्स क्लब अफ बुटवल देउरालीले ५० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । छत्रदेव गाउपालिका–६ का १८ वर्षिय भोजराज पौडेललाई क्लबले बिहीबार बुटवलमा एक कार्यक्रमबीच ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डायलासिस गराउँदै आएका पौडेलले क्लबको सहयोगले आफूलाई केही राहत भएको बताए । 

यस्तै क्लबले बिहीबार नै मानव सेवा आश्रम बुटवलमा आश्रित एक सय जना भन्दा बढी एक छाक खाना खुवाएको छ । लायन्स इन्टरनेशनलको ‘हङ्गर रिलिफ प्रोजेक्ट’ अन्तर्गत बेसहारा भई आश्रममा आश्रित व्यक्तिलाई खाना खुवाइएको क्लबले जनाएको छ । 

सोही कार्यक्रममा क्लबले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नरमा हालै मात्र निर्वाचित नवराज न्यौपानेलाई सम्मान गरेको छ । 
सो कार्यक्रममा बोल्दै भाइस गभर्नर न्यौपानेले लायन्स क्लबमा आवद्ध सबैले निस्वार्थ भावले सामाजिक सेवाका क्षेत्रमा सक्दो योगदान गर्नुपर्नेमा जोड दिंदै दिए । उनले आफ्नो आम्दानीको निश्चित अंश समाज सेवामा खर्च गर्ने गरेको बताए । 

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ अर्जुनमान सैंजू, एरिया ४ चिफ जीवन गौतम, जोन चेयरपर्सन भोजराज पाण्डे र टिकाराम बन्जाडे, गाइडलाइनर गणेशप्रसाद भट्टराईले स्थापनाको छोटो अवधिमै लायन्स क्लब देउरालीले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै सराहना गरेका थिए । 
क्लबका वर्ष २०२१/२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफ्नो कार्यकालमा क्लबको छुट्टै अक्षयकोष स्थापना गरी ३० लाख रुपैयाँको कोष बनाउने घोषणा गरे । उनले आफ्नी आमा रेवतीकुमारी पौडेलको नाममा उक्त अक्षयकोषमा एक लाख एक हजार जम्मा गर्ने घोषणा गरे । 

त्यस्तै आफ्नो कार्यकालमा महिला र पुरुषको दुईवटा लायन्स क्लब स्पोन्सर गर्ने, आचारसंहिता निर्माण गरेर क्लबलाई अनुशासित र व्यवस्थित बनाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, देउसीभैलो कार्यक्रम गरेर रकम जम्मा गर्ने, क्लबलाई सरकारी निकायमा दर्ता गरी संघ, प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाए । रामप्रसाद गैरे र ललित पाण्डेको संयोजनमा भएको कार्यक्रम क्लबका सचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन, तृतीय उपाध्यक्ष विष्णु प्रसाद अधिकारीको स्वागत र द्वितीय उपाध्यक्ष दीपक पन्थीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।