
बिहिवार , आषाढ १७, २०७८
बुटवल, १७ असार ।
लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथमा पद हस्तान्तरण गरिएको छ । बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०२०/०२१ को कार्यसमितिले वर्ष २०२१/०२२ को लागि नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल थापा क्षेत्रीले स्थापना भएको छोटो समयमा क्लवको साख र प्रतिष्ठामाथि उठेको बताउँदै यो गरिमालाई अझै माथि उठाउने दायित्व नयाँ कार्यसमितिको भएको बताए । उनले क्लबले अगाडि सारेका कार्यक्रममा पूर्वअध्यक्षहरुको सधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै क्लवका सदस्यसहित पूर्व अध्यक्षहरुलाई साथमा लिएर हिंड्न आग्रह गरे ।
सो अवसरमा क्लबका नवनिर्वाचित अध्यक्ष सन्तोषमान श्रेष्ठ सिमङ्गैडाले क्लवमा सञ्चालित कार्यक्रमसहित प्रभावकारी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले क्लबले सञ्चालन गर्ने कार्यक्रममा पूर्ण सहयोगको लागि पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरुलाई आग्रह गरे । कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रयाप्त कार्यक्रम गर्न नसकिएको बताउँदै क्लबका निवर्तमान अध्यक्ष यदुमणी पोख्रेलले विगतका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लबका कार्यक्रममा आफ्नो पूर्ण साथ र सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद नेपाल, भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि)ले क्लबले प्रतिकुलताकाबीच रचनात्मक कार्यक्रम गरेको बताए । पूर्वअध्यक्ष लक्ष्मण कुवर लगायतले शुभकामना व्यक्त गर्दै क्लवले गर्ने हरेक कार्यक्रममा सहयोग हुने बताए । खिलाराज अधिकारीको स्वागत, क्लबका सचिब लेखनाथ बस्याल र विमल न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा २०७८ सालको क्यालेन्डर विमोचन गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij