
बिहिवार , आषाढ २४, २०७८
भैरहवा, २४ असार ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीले रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा भारोत्तोलन खेलका वरिष्ठ प्रशिक्षक संगमसिंह थापालाई विदाई गरेको छ । बढुवा भई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग अन्तर्गत प्राविधिक प्रशासनको उप–निर्देशकको जिम्मेवारी पाएका थापालाई परिवारले विदाई गरेको हो । उनलाई बिहीबार भैरहवामा एक कार्यक्रमकाबीच परिवारले विदाई गरेको हो ।
कार्यक्रममा बोल्दै उप–निर्देशक थापाले खेलकुदको विकासको लागि आफू लागिपर्ने बताए । उनले रुपन्देही खेलकुद विकास समितिको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दा पाएको सहयोगप्रति सामूहिक विद्यालय परिवारसहित सम्पूर्ण संघ–संस्थालाई धन्यवाद दिए । २०५० सालमा अधिकृतमा नाम निकालेको स्मरण गर्दै थापाले राज्यले अहिले दिएको जिम्मेवारीलाई पुरा गर्ने बताए ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष मनोज कुमार यादवले खेलकुद क्षेत्रको अभिभावक केन्द्रमा पुग्नु गर्वको विषय भएको बताए । उनले रुपन्देही खेलकुद विकास समितिको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहँदा थापाले खेलाडीलाई उर्जा प्रदान गर्दै निरन्तर सहयोग गर्दै आएको बताए ।
परिवारका सल्लाहकार तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले संगमसिंह थापाको भूमिका परिवारले बिर्सन नसक्ने बताए । उनले भने, ‘थापाले खेलकुद विकास समितिसंग परिवारलाई जोड्नुभयो, संस्थाले आयोजना गरेका वार्षिक खेलकुद कार्यक्रममा खेलकुद मैदानको अभाव हुँदा सहजीकरण गर्नुभयो ।’ परिवारका उपाध्यक्ष युवराज पोख्रेलको स्वागत तथा सचिव चन्द्रप्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धर्मराज गिरीले पनि खादा लगाएर थापालाई विदाई गरेका थिए । वि.सं. २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवारमा हाल १८ वटा विद्यालय आबद्ध रहेको परिवारका कोषाध्यक्ष समशाद इद्रिसीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij