२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सुखौरा सामुदायिक वनका हेरालुले काम छोडेको तीन वर्षसम्म पारिश्रमिक पाएनन् 

सोमवार , भाद्र १५, २०७७



रुपन्देही, १५ भदौ । 
रुपन्देहीस्थित सुखौरा हरियाली सामुदायिक वनका एक वन हेरालुले काम छोडेको तीन वर्ष बितिसक्दा पनि आफुले पारिश्रमिक नपाएको बताएका छन् । 
साविकको मक्रहर गाविस वडा नम्बर १ र ९, पत्रमा उल्लेखित हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३–१६ मा पर्ने सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समूहमा कार्यरत वन हेरालु तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का हरि वहादुर कुमालले आफुले डेढ वर्षसम्म गरेको पारिश्रमिक नदिएको दुःखेसो पोखेका छन् ।

२०७३ साल जेठ २ गते देखि वन हेरालुको रुपमा कार्यरत रहेका कुमालले डेढ वर्षसम्म पनि आफुले काम गरेको पारिश्रमिक नपाएपछि अन्ततः काम गर्न छोडेको बताउँदै, उनले भने चुनावका बेला वनका अध्यक्ष वेद गिरीले अरु कसैको हातवाट ४० हजार रुपैयाँ दिएको भन्दै अझै वाँकी १ लाख २२ हजार रुपैयाँ रकम आफुले काम छोडेको ३ वर्ष पुगिसक्दा समेत पटक–पटक माग्दा समेत नपाएको गुनासो गरेका छन् ।
कुमालले भने, ‘पटक–पटक माग्न जाँदा अध्यक्ष वेद गिरीले अहिले पैसा छैन् भएपछि दिउँला भन्दै टार्ने गरेको जनाउँदै आफु सोही वनमा आवद्धता गर्दाको नियुक्ति पत्रलाई हेर्दै मन वुझाउने गरेको सुनाए । यस विषयमा (खबरपात्रो) संगको कुराकानीमा सो वनका अध्यक्ष वेद गिरीले वन हेरालु कुमालले पारिश्रमिक नपाएको स्वीकारेका छन् ।

काम गराएर किन पारिश्रमिक नदिएको भन्ने जिज्ञासामा अध्यक्ष गिरी वनको आयस्रोत नभएकाले नदिएको भन्ने प्रतिक्रिया दिएका छन् । अध्यक्ष गिरीका अनुसार करिब २ सय २२ हेक्टर क्षेत्रफल रहेको सुखौरा हरियाली सामुदायिक वनको झण्डै ४ वर्षसम्म पनि साधारणसभादेखि नविकरण समेत हुन नसकेको स्थानीय उपभोक्ताहरुले वताएका छन् । साथै उपभोक्ताहरुले सामुदायिक वन भए पनि तर आफुहरुले खाना पकाउनेदेखि मृत्युवरण हुँदा समेत अन्तिम संस्कारका लागि काठ, दाउरा नपाउने गरेको दुःखेसो पोखेका हुन् । सोही वनका वर्तमान अध्यक्ष गिरीको पोल्टामा सामुदायिक वन चल्दै आएको उपभोक्ताहरुको भनाइ छ । 

उपभोक्तहरुले भने, अध्यक्ष गिरीको एकल हावीले हामीले खाना बनाउनलाई दाउरा, घर वनाउन काठ र पशु चौपायलाई खुवाउने घाँस समेत पाउँदैनौ । तर सोही वनमा सालका काठहरु चोरी तस्करी हुँदा पनि सुखौरा हरियाली सामुदायिक वनका अध्यक्षदेखि कार्यसमिति चुप लागेर वस्ने, यता उपभोक्ताहरुलाई वनमा समेत जान नदिने कार्यलाई शंकाको घेरामा राखेका छौं । यो कस्तो सामुदायिक वन हो हामी जान्न चाहन्छौं ।
नविकरण र अडिट समेत नभएको विषय जिल्ला वन कार्यालय रुपन्देहीलाई पनि जानकारी रहेको भन्दै उपभोक्ताहरुले वन कार्यालयले पनि खासै चासोका साथ नहेरेको गुनासो गरे । यसैबीच सो विषयमा यता सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वेद गिरीले साधारणसभा, नविकरण र अडिट नभएको स्विकार्दै, तर उपभोक्ताहरुले भनेको वन वाट कुनै पनि काठ, दाउरा लिन नपाएको भन्ने गुनासोप्रति उक्त गुनासो सत्यता नभएको दावी गर्दै, उपभोक्ताहरुले लिइरहेको बताए ।