
सोमवार , भाद्र १५, २०७७
भैरहवा, १५ भदौ ।
आँपको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागि झण्डै तीन महिनादेखि उपचार गराइरहेका नवलपरासीको रामग्राम नगरपालिका–१७ देवगाउँ फुलवरियाका १७ वर्षिय छोटु सहानीको परिवारलाई विभिन्न संघ–संस्थाले सहयोगलाई निरन्तरता दिएका छन् ।
आर्थिक अभावका कारण छोटुको उपचारमा समस्याबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि छोटुको परिवारलाई विभिन्न संघ–संस्थाले सहयोग गरिरहेका छन् ।
लुम्बिनी बुद्धभुमि जनकल्याण संस्था मायादेवी–७ हाटीबनगाई, रुपन्देहीले सोमबार भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस)मा पुगेर छोटुका बुवा अमेरिका सहानीलाई ३१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै छोटुका बुवालाई फलफूल तथा सेनिटाइजर हस्तान्तरण गरिएको संसथाका अध्यक्ष उमेश यादवले बताए ।
‘आर्थिक अभावका कारण छोटुको उपचारमा समस्या भएको जानकारी पाएपछि केही भए पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले रकम हस्तान्तरण गरेका हौं, उनले भने ।’
रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी अजय कुमार गुप्ता, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
यस अघि भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा उपचारत सहानीकोे उपचार खर्च जुटाउनका लागि सञ्चालन गरिएको ‘छोटु सहानी बचाउ अभियान’ ले २ लाख ३० हजार ६ सय ६६ रुपैयाँ उपलब्ध गराइसकेको छ । स्थानीय समाजसेवी रविकान्त उपाध्याय, अजय कुमार गुप्ता, विवेक जयसवाल, गौतम कुमार गुप्ता, धिरज मल्लिक लगायत युवाहरुको सक्रियतामा यो अभियान सञ्चालन गरिएको हो ।
सोही क्रममा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले १ लाख १ हजार १ सय ११, मारवाडी युवा मंच भैरहवाले ५१ हजार १ सय, लायन्स क्लब अफ भैरहवा युथले ३१ हजार १ सय ११, लायन्स क्लब अफ सिद्धार्थनगर युथले ३० हजार १ सय, इनरह्वील क्लब अफ लुम्बिनी तथा मायादेवी च्यारिटेबल फाउण्डेशनले २५/२५ हजार, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले २३ हजार ३ सय ३३, भैरहवा मर्निङ वाक ग्रुपले १५ हजार र लियो क्लब अफ सिद्धार्थनगर युथले १० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरिसकेको रविकान्त उपाध्यायले बताए ।
गत जेठ १२ गते घरनजिकै आँप टिप्ने क्रममा रुखबाट लडेर घाइते भएका छोटुको उपचारको लागि सुरुमा परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगेको थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा रिफर गरिएको थियो । टाउकोको अपरेशन सफल भए पनि छोटु अचेत अवस्थामा नै छन् ।
विपन्न परिवारका सहानी परिवारलाई उपचारमा आर्थिक समस्याले थप पिरोलेको छ । छोटुका बुवा अमेरिका मजदूरी गरेर परिवारको जीविकापार्जन गर्दै आएका छन् । सहानी परिवारमा एक पछि अर्को समस्या थपिदै गएको छ । यो परिवारले केही वर्ष अघि सर्पले टोकेर जेठो छोरा गुमाइसकेको छ भने अमेरिकाको छोरी अञ्जना दुई वर्ष अघि पत्थरीको शल्यक्रिया र श्रीमती रमावतीको पाठेघरको शल्यक्रिया भएको थियो । यो परिवार विभिन्न समस्याबाट गुज्रिदै आएको छ । उपचारका क्रममा अब यो परिवारसंग खर्च गर्ने रकम छैन । उनीहरुले छोरोका उपचारका क्रममा भएको सम्पत्ति बेचिसके । अब सम्पत्तिको नाममा २ धुरमा बनेको कच्ची घर मात्र बाँकी रहेको अमेरिकाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij