
आइतवार , आषाढ २७, २०७८
काठमाडौं, २७ असार ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज गोरखापत्र संस्थानका विज्ञ सल्लाहकारमा दीपक ज्ञवाली र कानूनी सल्लाहकारमा कृष्णप्रसाद आङ्दम्बेलाई नियुक्त गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले उनीहरुलाई नियुक्तिपत्र दिएका हुन् । ज्ञवाली रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाका बासिन्दा हुन् । झण्डै तीन दशकदेखि पत्रकारिता गर्दै आउनुभएका ज्ञवालीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यामा रहेर पनि कार्य गरिसकेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरुलाई गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा १ बमोजिम नियुक्त गरिएको हो । ज्ञवालीले संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङसम्बन्धी सल्लाहकारका रुपमा जिम्मेवारी निर्वाह गर्ने उल्लेख छ ।
त्यस्तै कानूनी सल्लाहकारमा नियुक्त आङ्दम्बे पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका–१ का बासिन्दा हुन् । उनी नेपाल बार एशोसिएशनका पूर्वकेन्द्रीय सदस्य हुन् । उनले २३ वर्षदेखि प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा वकालत गर्दै आएका छन् । उनीहरु दुवैलाई मन्त्रालयले दुई वर्षका लागि नियुक्त गरेको हो ।
नियुक्तिपत्र दिँदै मन्त्री नेम्वाङले ज्ञवाली र आङ्दम्बेको अनुभव तथा सिर्जनात्मक क्षमता देशकै पुरानो संस्था गोरखापत्र संस्थानलाई उन्नत र समृद्ध बनाउन प्रयोग हुने सरकारले विश्वास गरेको बताए । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल उपस्थित रहेका थिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij