
मंगलवार , आषाढ २९, २०७८
भैरहवा, २९ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरले मृगौलापीडित युवालाई आर्थिक सहयोग गरेको छ । क्लबले बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर ९ निवासी मृगौलासम्बन्धि रोगबाट पीडित २६ वर्षिय प्रकाश खड्काको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
क्लबले मंगलबार एक कार्यक्रमकाबीच अर्जुन कार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि केही भए पनि राहत होस् भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लायन्स क्लबले लामो समयदेखि सेवा गर्दै आएको बताए । उनले लायन्सले सहयोग गरेको कुरा समाजमा जानकारी गराउनुपर्ने बताउँदै यसले विभिन्न नागरिक तथा संघ–संस्थाहरुलाई सहयोग गर्न प्रोत्साहन गर्ने बताए । ‘लायन्स क्लबले गरेका विभिन्न कार्यहरुबारे समाजलाई अवगत गराउनुपर्छ, ’उनले भने । कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर राणाले व्यक्तिगत रुपमा मृगौलापीडित मनोज खड्कालाई ३ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ डिष्ट्रिक एडभाइजर धर्मराज श्रेष्ठले विभिन्न समयमा लायन्स क्लबले सहयोग गर्दै आएको बताए । उनले लायन्स क्लबका सदस्यहरुबाट रकम संकलन गरी मृगौलापीडित युवाको उपचारमा सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए । लायन्स डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी चिफ राजेश खरेलले स्वतस्र्फूत रुपमा क्लबका सदस्यहरुले प्रदान गर्नुभएको रकम मृगौलापीडितको उपचारका लागि सहयोग गरिएको बताए । लायन्स डिष्ट्रिक ३२५ बी २ नेपालका जोन चेयरपर्सन थिरेन्द्र कुमार श्रेष्ठले मृगौलापीडितको सफल उपचारको कामना गरे ।
लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, कार्यक्रम संयोजक अर्जुन कार्कीको स्वागत, विनोद मिश्रको ध्वजा अभिवादन तथा सचिव धर्मराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक कार्कीका अनुसार मृगौलापीडित प्रकाश खड्काको उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij