२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

रोटरी भैरहवाद्वारा बेलहिया माविमा निर्मित शौचालय हस्तान्तरण

बुधवार , आषाढ ३०, २०७८

भैरहवा, ३० असार ।
रोटरी क्लब अफ भैरहवाद्वारा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री बेलहिया माध्यमिक विद्यालयमा निर्मित शौचालय हस्तान्तरण गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडको सहकार्यमा बनेको शौचालय क्लबले बुधबार विद्यालयलाई हस्तान्तरण गरेको हो ।

७ लाख ७ हजार ७ सय ९७ रुपैयाँको लागतमा महालक्ष्मी विकास बैंक लिमिटेडको १ लाख ७५ हजार, बेलहिया मा.वि. को १ लाख ५ हजार, रोटरी क्लब अफ भैरहवाको ९० हजार ५ सयसहित विभिन्न व्यक्ति र संस्थाको सहयोगमा शौचालय निर्माण गरिएको कार्यक्रम संयोजक राम प्रसाद पन्थीले बताए । उनले रोटरी क्लब अफ भैरहवाले ‘ह्याप्पी स्कूल’को परिकल्पना गरी सर्भिस प्रोजेक्ट अन्तर्गत विद्यालयमा शौचालय निर्माण गरेको जानकारी दिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिष्ट्रिक ३२९२ रिजन २१ का एसिसटेन्ट गभर्नर राजकुमार गुप्ताले बेलहिया मा.वि. व्यवस्थापन समितिको सक्रियताका कारण विद्यालयलाई क्लबले सहयोग गरेको बताए । उनले कतिपय विद्यालय व्यवस्थापन समितिले निर्माण भएका संरचनाहरुको संरक्षण गर्न नसकेकाले संरक्षण हुने विद्यालयमा क्लबले लगानी गर्ने बताए । उनले विद्यालयलाई राम्रो होस् भन्ने उद्देश्यले रोटरी क्लब अफ भैरहवाको अगुवाइमा महालक्ष्मी विकास बैंक लगायत उद्योगी, व्यवसायी, समाजसेवीले शौचालय निर्माणमा सहयोग गरेको बताए । ‘विद्यालयमा निर्मित शौचालयको रेखदेख विद्यालय व्यवस्थापन समितिले गर्नेछ, रोट्रयाक्ट क्लब अफ भैरहवाले पनि बेलहिया मा.वि.मा केही गर्छौं भनेर अगाडी बढेको छ, ’ गुप्ताले भने ।

आर्थिक अभावका कारण विद्यालय आउन नसक्ने विद्यार्थीहरुको पहिचान गर्न विद्यालयलाई आग्रह गर्दै उनले भने, ‘पोशाक, स्टेशनरी किन्न नसक्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको विवरण छिटो भन्दा छिटो संकलन गर्नुहोस्, हामी सहयोग गर्छौं ।’ यस अघि रोटरी क्लब अफ भैरहवाले विद्यालयलाई कम्प्युटर प्रदान गरेको र विद्यालयले उक्त कम्प्युटरको हेरचाह गरेको थाहा पाउँदा खुशीको अनुभुति भएको बताए ।

बेलहिया मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले विद्यालयमा शौचालय अत्यावश्यक भएको बेला रोटरी क्लब अफ भैरहवाले महालक्ष्मी विकास बैंकको सहकार्यमा निर्माण गर्नु सराहनीय कार्य भएको बताए । उनले क्लबबाट विद्यालयले प्रेरणा पाएको बताए ।

रोटरी क्लब अफ भैरहवाका निवर्तमान अध्यक्ष शिवहरि शर्माले कोभिड–१९ का कारण शौचालय निर्माण केही ढिला भएको बताए । उनले शौचालय निर्माणका लागि सहयोग र सहकार्य गर्ने महालक्ष्मी विकास बैंक लिमिटेडलाई धन्यवाद दिए ।

महालक्ष्मी विकास बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाले काम गर्ने प्लेटफर्म दिएको भन्दै क्लबलाई धन्यवाद दिए । उनले महालक्ष्मी विकास बैंक अग्रपंक्तिमा रहेर संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । चालु आर्थिक वर्षको अन्तिममा बेलहिया मा.वि.लाई शौचालय हस्तान्तरण गरिएको र यस अघि पनि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले महालक्ष्मीसंगको सहकार्यमा भानु मा.वि.मा शौचालय निर्माण गरेको जानकारी दिए । उनले १०३ वटा शाखामार्फत बैंकले सेवा प्रदान गरिरहेको जानकारी दिए ।

IMG_9883.JPG

रोटरी क्लब भैरहवाका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजनजंग राणाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

IMG_9886.JPG