२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लुम्बिनी प्रदेशले कोभिड अस्पतालका कर्मचारीलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने

बुधवार , आषाढ ३०, २०७८

बुटवल, ३० असार। लुम्बिनी प्रदेश सरकारले प्रदेशका ४ वटा कोभिड अस्पतालका कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना अस्पतालमा कार्यरत ४ सय भन्दा बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले दिएको जानकारी अनुसार कोभिड नियन्त्रण तथा रोकथाम कोषबाट उक्त रकम प्रदान गरिने छ। केन्द्र सरकारले अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमणको जोखिम समयमा काम गरेको भन्दै जोखिम भत्ता थप्ने निर्णय गरेको छ।

मन्त्री चौधरीले भने—‘केन्द्र दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको छ। कोरोनाको तेस्रो भेरियण्टको समयमा काम गर्न मनोबल बढोस भन्ने उद्देश्यका साथ थप भत्ता दिइएको हो।’

साथै लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी बोर्डमा दाङका शम्भु गौतमलाई पदस्थापन गर्ने निर्णय गरेको छ। 

पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि भएको रिक्त स्थानमा उनलाई पदस्थापन गर्ने निर्णय गरेको हो। मन्त्रीपरिषद्ले यसबाहेक अन्य ८ वटा निर्णयहरु गरेको छ। प्रदेश सरकारको निजामती सेवा अन्तर्गत प्रशासन सेवा र वन सेवाका रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ। 

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आएको रुपन्देही जिल्लाको जिल्ला सभा तथा जिल्ला समन्वय समितिको जिल्लास्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७८ लाई सहमति दिने निर्णय गरेको छ। बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रस्तावमा आएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ।

बैठकले प्रदेश तथ्यांक नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ। साथै घरजग्गा न्यूनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ। प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति समेत दिइएको छ। गत असार २७ गते बस्ने निर्णय भएको मन्त्रीपरिपाद बैठक मुख्यमन्त्रीको ब्यस्तता लगाएतका विभिन्न कारणले ढिलाई भएर २९ गते मंगलबार बसेको हो।