२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

बकर इदले सदभाव बढाउन महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पोखरेल

बुधवार , श्रावण ६, २०७८


भैरहवा, ६ साउन । 
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले मुस्लिम समुदायको महान पर्व बकर इदले सदभाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उनले बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको बताए ।

बकर इदको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुशीयाली मनाउनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बलियो हुने उल्लेख गरेका छन् ।
‘नेपाली समाज विविधताले रंगिएको छ । विभिन्न जाति र समुदायका पर्व र उत्सवले समाजलाई उज्यालो बनाएका छन् । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव सबैका साझा पर्व हुँदै गएका छन्, ’शुभकामना सन्देशमा उल्लेख छ ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको उनको भनाइ छ । 

‘अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे छ । यतिखेर मुलुक संविधान कार्यान्वयनको  महत्वपूर्ण दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर तयार हुनेछ, ’शुभकामना सन्देशमा भनिएको छ ।