२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

नागरिकको पीडा : जग्गा छ तर लालपूर्जा छैन

बिहिवार , श्रावण ७, २०७८

भैरहवा, ७ साउन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का कृष्ण श्रेष्ठको गाउँ ब्लकमा जग्गा छ । जग्गा र घर भए पनि उनीसंग जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) भने छैन । वर्षौदेखि लालपूर्जा नहुँदा उनी बैंकमा पुगेर घरजग्गा धितोमा राखेर ऋण लिन सक्दैनन् । गाउँ ब्लक अन्तर्गत रहेको जग्गाको कर भने उनले प्रत्येक वर्ष बुझाउँदै आएका छन् ।  श्रेष्ठले भने, ‘गाउँब्लकमा रहेका जग्गाधनीले छिटो भन्दा छिटो जग्गा पाउनुपर्छ भन्ने हाम्रो चाहना हो, बासस्थान त छ, तर त्यसको खासै महत्व छैन, यसको महत्व बढाउन त हतियार (लालपूर्जा) चाहिन्छ ।’

धेरै वर्षदेखि यसबारे आवाज उठाए पनि आफूहरुको माग सम्बोधन हुन नसकेको उनले गुनासो गरे । ‘जग्गाको नापनक्सा पनि भयो, तर हालसम्म हामीले लालपूर्जा पाउन सकेका छैनौं, आवश्यक परेको बेला भएको जग्गाबाट पनि केही काम अगाडी बढाउन सकेका छैनौं, अब त हाम्रो समस्या समाधान होला भन्ने आशमा छौं ।’

वडा समितिको कार्यालयले यसबारे चासो लिएपछि आशा पलाएको उनको भनाइ छ । यो समस्या एउटा मात्र व्यक्तिको नभइ थुप्रै वडावासीको साझा समस्याको रुपमा रहेको उनले बताए ।

उनी जस्तै सिद्धार्थनगर नगरपालिका ४ की मैना कुमारी गुरुङले पनि लालपूर्जा पाएकी छैनन् । साढे १३ धुरमा घर बनाए पनि आफ्नै जग्गाको मालिक बन्न नपाउँदा उनी चिन्तित बनेकी छन् । वर्षौदेखि लालपूर्जा पाउने आशमा बसेकी गुरुङले देशमा भएको परिवर्तन तथा संघीयता कार्यान्वयन भएसंगै अब आफू जस्तै लालपूर्जाबिहीन वडावासीले पाउने आशा व्यक्त गर्छिन् ।

सिद्धार्थनगर नगरपालिकाले बनाइदिएको लगतको आधारमा उक्त जग्गामा बसोबास गर्दै आइरहेका वडावासीले हालसम्म लालपूर्जा पाउन नसकेको सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । ‘हामीले पटकपटक नगरपालिकाको बोर्ड बैठकमा यो कुरा उठाएका छौं, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष बढी भइसक्यो, तर नगरपालिकाले लालपूर्जाबिहीन नागरिकलाई लालपूर्जा उपलब्ध गराउनेतर्फ त्यति पहल गरेको पाइएन, आशा छ अब भने नगरपालिकाले यसप्रति ध्यान दिन्छ ।’

गाउँ ब्लकमा जग्गा पर्ने नागरिकसंग रहेका सम्पूर्ण कागजात वडा कार्यालयले संकलन गरिरहेको वडाअध्यक्ष यादवले जानकारी दिए । वडा समितिको कार्यालयले संकलन गरेका विवरण नगरपालिका कार्यालयमा पठाउने र नगरपालिकाले नापी कार्यालयमा लालपूर्जा प्राप्तिका लागि पहल गर्नुपर्ने उनले बताए ।

‘घर छ, जग्गा छ, तर त्यो जग्गा धितोमा राखेर बैंकबाट ऋण पाउन सकेको अवस्था छैन, नागरिक असाध्यै पीडित छन्, ’उनले भने । जग्गा भएर पनि लालपूर्जीबिहीन हुन वडा नम्बर ४ को मुख्य समस्याको रुपमा रहेको उनको भनाइ छ । गाउँ ब्लकमा रहेका स्टकवा, दोगहरा, एअरपोर्ट (विमानघाट पथ), खण्डवा लगायत टोलका करिब २५० घरधुरी लालपूर्जाबिहीन भएको वडाअध्यक्ष यादवले जानकारी दिए । ‘मैले आफ्नो ५ वर्षे कार्यकालभित्र लालपूर्जीबिहीन वडावासीलाई जग्गा दिने संकल्प लिएको छु, ’उनले भने ।

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत अजित कुँवरले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा भएका गाउँब्लक जग्गाहरु प्राय धेरै काम सम्पन्न भएको बताए । उनले वडा नम्बर ४ मा गाउँब्लकको जग्गा नापी भएर जग्गाधनीले लालपूर्जा प्राप्त गरिसकेको र एक/दुई वटा गाउँब्लक जग्गा भएका नागरिकले पूर्जा पाउन बाँकी रहेको बताए । केही प्राविधिक कारणले अप्ठयारो भएको तर पुर्जा पाउन धेरै जना बाँकी भने नरहेको उनको भनाइ छ ।

‘साधनस्रोतले भ्याएसम्म २ वर्षको अन्तरालमा ४ सय बढी गाउँब्लकको जग्गा नापनक्सा गरेर पूर्जाहरु तयार गरेर वितरण गरिसकेका छौं, अरु पनि पाइपलाइनमा धेरै जग्गा छन्, ’उनले भने । अबको डेढ वर्ष जनशक्तिको कमी नभएको अवस्थामा नापनक्सा र पुर्जा वितरण कार्य सम्पन्न हुने उनले जानकारी दिए । रुपन्देहीमा १ हजार ३ सय बढी गाउँब्लकको जग्गाको पूर्जा व्यक्तिहरुले पाउन बाँकी रहेको कुँवरले जानकारी दिए । गाउँब्लकलाई अभियान नै सञ्चालन गरेर छुटेका जग्गाहरुको नापनक्सा गरेर पूर्जा वितरण गर्नेतर्फ कार्यालय अगाडी बढेको उनको भनाइ छ ।