
होटल आइसोलेशनबाट निको भएर घर फर्किए कोरोना संक्रमित
बिहिवार , भाद्र १८, २०७७
भैरहवा, १८ भदौ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यति बेला विश्व नै आक्रान्त छ । कोभिड–१९ को संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा दिनप्रतिदिन यसको संक्रमण बढ्दै गएको छ । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा पनि कोभिड–१९ संक्रमितहरुको संख्या १ हजार नाघिसकेको छ ।
जिल्लामा संक्रमितहरुको संख्या बढेसंगै यसको व्यवस्थापनमा समेत चुनौती बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार संक्रमितलाई छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ । कोरोना संक्रमितप्रति समाजमा हेर्ने दुष्टिकोण सकारात्मक हुन सकेको छैन् । कोभिड–१९ को संक्रमण पुष्टि भएको खबर हुनासाथ मानिसलाई हेर्ने दुष्टिकोण फरक छ । आफै टोलछिमेकबाट उनीहरुलाई हेर्ने व्यवहार ठीक नभएको कुरा विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जानकारी पाइएको छ । संक्रमत भइसकेपछि घर भाडामा लिएर बस्नेहरु धेरै समस्यामा पर्ने गरेका छन् ।
लक्षण नभएर संक्रमित भइसकेपछि पनि होम आइसोलेसनमा बस्नको लागि सबैको घरमा प्रयाप्त व्यवस्था र पूर्वाधार हुँदैन । अझ भाडामा बस्नेहरुलाई त यो समस्याको विषय नै भयो ।
यस्तै खालको समस्या भैरहवामा पनि आयो । भैरहवाको एक बैंकका कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुको व्यवस्थापन गर्न स्थानीय पालिका तथा प्रशासनलाई समस्या प¥यो । गत साउन ३२ गते भैरहवाको एक बैंकका १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
समस्यामा परेका कोरोना संक्रमितहरुको व्यवस्थापन गर्न लाग्यो भैरहवास्थित होटल ग्यालेक्सी हाउस एण्ड रेष्टुरेण्ट । उक्त होटलले बैंकका कर्मचारीहरुलाई कोठाहरु आइसोलेसनको रुपमा दिएर सहयोग गरेको छ ।
सुरुमा भैरहवाका बैंकका १३८ जना कर्मचारीको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि थप परीक्षण गराउँदा एउटा बैंकका १२ जनामा संक्रमण पुष्टि भएको बैंकर्स एसोसिएसन भैरहवाका अध्यक्ष रामराज उपाध्यायले बताए । ‘कोरोना संक्रमण पुष्टि भएपछि हामी होटलको खोजीमा लाग्यो, त्यत्ति बेला दिनेश पौड्याल र ज्ञानु पौड्यालले होटल ग्यालेक्सी आइसोलेशनको रुपमा लिन तयार हुनुभयो, उहाँहरुको सकारात्मक सोचका कारण बैंकका कर्मचारी होटल आइसोलेशनमा बस्न पाउनुभयो, उपाध्यायले भने ।’
लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल पौड्याल दम्पत्तीले आफ्नो होटल आइसोलेशनको रुपमा दिन सहर्ष स्वाकार्नु आफैमा महत्वपूर्ण कुरा भएको उनले बताए । ‘यसले राम्रै सन्देश गएको छ, अझ उहाँहरुले जडिबुटी लगायत आवश्यक खाने कुराहरु पनि तालिका बनाएर कोरोना संक्रमितलाई दिनुभयो, यो कार्यले पनि कोरोना संक्रमितहरुको आत्मबल बढेर निको हुने भएको छ, उपाध्यायले भने ।’ सकारात्मक सोचले राम्रो परिवर्तन ल्याएको र अहिले अन्य होटलहरु पनि आइसोलेशनको रुपमा दिन तयार रहेको कुरा जानकारी पाइएको उनले बताए । होटलका सञ्चालक दिनेश पौडयाल माइक्रोबायोलोजी र जनस्वास्थ्य विषयको अध्ययन गरेको कारण पनि होटल आइसोलेशन सफल भएको उपाध्यायले बताए ।
होटलका सञ्चालक दिनेश पौड्यालले कोरोना संक्रमित भइसकेपछि समाजमा हेर्ने दृष्टिकोण नकारात्मक हुनु दुःखद भएको बताए । उनले बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि बस्ने ठाउँको अभाव भएको ग्यालेक्सी परिवारले जानकारी पाएपछि बैंकर्स एशोसिएसनसंगको सहकार्यमा होटल उपलब्ध गराएको बताए ।
‘कोरोना संक्रमितलाई विभेद होइन, उहाँहरुलाई बस्ने स्थानको आवश्यकता हुन्छ, संक्रमित भएपछि उपयुक्त आइसोलेशनमा बसेर संक्रमणबाट मुक्त हुन सकिन्छ, उनले भने ।’
‘हामी दुवैजना सञ्चालक स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकोले पनि सजिलो भयो, कोरोना संक्रमितहरुलाई आइसोलेशनमा बस्दा प्रविधिको प्रयोगमार्फत पनि उहाँहरुलाई सहयोग भयो, मुख्य रुपमा सामाजिक दुरी कायम भया, उनले भने ।’ रोगविरुद्ध लड्न सक्ने र प्रतिरोधात्मक प्रणाली मजबूत गर्न खानेकुराहरु दिइएको उनले बताए । होटलमा कार्यरत कर्मचारीहरुले पनि आइसोलेशन सञ्चालन गर्नसहयोग गरेको उनको भनाइ छ । समग्रमा व्यवस्थित रुपमा होटल आइसोलेशन सञ्चालन गरी बैंकका कर्मचारी निको पारेर विदाइ गर्न पाउनु होटलले सफलताको रुपमा बुझेको पौड्यालले बताए ।
होटलका सञ्चालक दिनेश पौड्याल नेपालमा लामो समयदेखि स्वास्थ्य र सामाजिक क्षेत्रमा कार्य गर्दै आएका छन् । त्यस्तै बेलायतमा जनस्वास्थ्य विषयमा विज्ञता हासिल गरेका छन् ।
सम्भवत : नेपालमै पहिलो पटक यसरी सामुहिक रुपमा आइसोलेसनको लागी होटल उपलब्ध गराइएको सञ्चालकको दावी छ ।
समाजप्रति केही उत्तरदायित्व पनि रहेको कारण अप्ठ्यारो परेको बेला होटललाई आइसोलेसनको रुपमा प्रयोग गर्न दिएको होटलका सञ्चालक ज्ञानु पौड्यालले बताइन् । यसले सकारात्मक सन्देश जाने उनले विश्वास व्यक्त गरिन् ।
साउन ३२ गते सांझ आइसोलेशनमा बस्न आएका १२ जना संक्रमितहरुलाई घरकै जस्तो व्यवहार गरिएको यसका सञ्चालकको भनाइ छ । पोषणयुक्त खानाको साथै गुर्जो, मरिच, बेसार, अदुवा लगायतको धुलो तातो पानी र दुध नियमित प्रदान गरिएको थियो । यसको साथै समयसमयमा होटललाई निसंक्रमण पनि गरिएको होटल सञ्चालकको भनाइ छ । घरायसी वातावरणमा राखिएका सबै संक्रमितलाई निको भएपछि भदौ १४ गते होटलबाट विदाई गरिएको थियो ।
अस्पतालमा समेत स्थान नभएको अवस्थामा होटललाई आइसोलेसन केन्द्रको रुपमा उपलब्ध गराएर ग्यालेक्सी होटलले नमूना काम गरेको स्थानीयवासीहरुको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा नगरपालिकाका न्यायिक समिति सदस्य उमेश थापा मगरले विषम परिस्थितिमा होटल ग्यालेक्सीले उदाहरणीय कार्य गरेको बताए । उनले कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण फरक भएको बेला पौड्याल दम्पत्तिले आंट गरेको बताए । उनले ग्यालेक्सी परिवार र पौडयाल दम्पत्तिले सामाजिक उत्तरदायित्व बहन गरेको बताए । होटलको यो कार्यले स्थानीयवासी पनि खुशी भएको उनले बताए । समाजमा संक्रमितलाई हेर्ने दृिष्टकोण अब परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij