२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

सि.डि.एम. द्वारा भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

आइतवार , श्रावण १०, २०७८

भैरहवा, १० साउन । 
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सि.डि.एम.) नेपालले भैरहवास्थित भीम अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । सि.डि.एम.का कार्यकारी निर्देशक धर्मराज घिमिरे र गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीले आइतबार अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को दोस्रो लहरमा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गर्ने योजना रहे पनि आउन ढिला भएका कारण अहिले हस्तान्तरण गरिएको सि.डि.एम. नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेले बताए । विपद्को क्षेत्रमा संस्थाले काम गर्दै आएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालले धेरै कोरोना संक्रमित बिरामीहरुको उपचार गरेको बताए । उनले अस्पतालमा ५० बेड हुँदा पनि १ सय बढी बिरामीको उपचार गरिएको जानकारी दिए । हाल अस्पतालमा १२ जना कोरोना संक्रमित बिरामी उपचाररत रहेको र ४ वटा आइसीयू पनि भरिभराउ रहेको भण्डारीले बताए । तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण शक्ति पूर्वतयारीमा लागेको उनको भनाइ थियो ।

‘विगतमा अत्यावश्यक अक्सिजन सिलिण्डरको अभाव रहेको थियो, तर अहिले अस्पतालको सम्पत्तिको रुपमा २ सय वटा सिलिण्डर भएको छ, ’उनले भने । अक्सिजन प्लान्ट स्थापना, बालबालिकाहरुको उपचारका लागि पीआइसीयू बेड तथा भेन्टिलेटर थप्ने तयारी भइरहेको उनले बताए । विगतमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको र अहिले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेर सि.डि.एम. नेपालले महत्वपूर्ण कार्य गरेको उनले उल्लेख गरे । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीले विशेषतः प्रकोपको क्षेत्रमा सि.डि.एम. नेपालले काम गर्दै आएको बताए । उनले कोभिड–१९ झनै ठूलो प्रकोपको रुपमा आएको बताए ।  
हस्तान्तरण कार्यक्रममा अस्पतालका कोभिड फोकलपर्सन डा. आरिफ हुसेन, प्रशासन अधिकृत गोविन्द ज्ञवाली, सि.डि.एम. नेपालका लेखा अधिकृत मौसमी टण्डन लगायतको उपस्थिति रहेको थियो ।