
आइतवार , श्रावण १०, २०७८
भैरहवा, १० साउन ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुलाई अस्पतालको सेवा शुल्कमा छुट दिने भएको छ । अस्पताल प्रशासन र लुम्बिनी प्रेस क्लबबीच आइतबार सेवा शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार उक्त अस्पतालमा उपचार गराउँदा पत्रकारहरुलाई विभिन्न सेवामा निश्चित छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । छुट सेवा लिनका लागि क्लबको परिचयपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने उनले जानकारी दिए ।
स्वास्थ परीक्षण र उपचारमा दिने सहुलियतको लागि लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी र अस्पतालका प्रबन्ध निर्देशक पौडेलले हस्ताक्षर गरी सम्झौता गरेका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा रहेको उक्त अस्पताल केही महिना अगाडि सुविधासम्पन्न आधुनिक भवनबाट सेवा विस्तार गरिरहेको छ । मृगौला रोगको उपचारमा लुम्बिनी प्रदेशमै प्रभावकारी सेवा दिदै आएको उक्त अस्पतालमा यति बेला हाडजोर्नी र नशा रोगको पनि विशेष उपचार हुँदै आएको छ ।
स्वास्थ्य क्षेत्रका सबैउपचार सेवा सञ्चालन गरेको उक्त अस्पतालले पत्रकारहरुलाई लक्षित गरी प्रदान गरेको सहुलियत प्याकेज महत्वपूर्ण रहेको लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझीले बताए । सम्झौतापत्रमा हस्तान्तरण कार्यक्रममा क्लबका महासचिव कमल रायमाझी, कार्यसमिति सदस्य रबिन्द्र प्रताप गुप्ता र पुनहरि बेल्बासेको समेत उपस्थिति रहेको थियो । २०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ३७ जना पत्रकार आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij