
बिहिवार , भाद्र १८, २०७७
बुटवल, १८ भदौ ।
रुपन्देही जिल्लामा रहेका उद्योग वाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालनको वातावरण बनाइदिन माग गरेका छन् । जिल्लामा रहेका पाँचवटा उद्योग वाणिज्य संघले कोरोना भाइरस संक्रमण फैलिन नदिने नाममा गरिएको लकडाउनले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै नीजि क्षेत्रको लगानी समेत धराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी निर्वाध रुपमा व्यापार व्यवसाय सउञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसंग माग गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै यही भदौ २० गते पश्चात निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेको हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा छोटो समय मात्रै पसल सञ्चालन गर्ने अभ्यासले झनै भिडभाड बढ्ने र संक्रमणको जोखिम समेत बढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
कोरोना निश्चित समयावधि भित्र नियन्त्रणमा आउँछ भन्ने कहींकतै प्रमाणित तथ्य नआएको कारण विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी निर्वाध रुपमा व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरु सावधानीपूर्वक सञ्चालन गर्ने प्रबन्ध मिलाउन विज्ञप्तीमा आग्रह गरिएको छ ।
लकडाउन वा निषेधाज्ञा कोरोनाको उपचार नभएको समेत स्मरण गराइएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो भने त्यस यता जिल्ला प्रशासन तथा स्थानी सरकारले लकडाउन गर्दै आएका छन् । जसका कारण उद्योग, व्यापार व्यासाय तथा जनजीवन समेत पनि ठप्प छ । यसबाट सापेक्षित रुपमा जनजीवन र उद्योग व्यापार व्यबसायलाई सहज बनाउनका लागि सरकारसंग आग्रह गरिएको हो ।
विज्ञप्तीमा कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल पूर्वाधार विकास र पीसीआर परीक्षणलाई तीव्रता दिन पनि आग्रह गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij