
सोमवार , श्रावण ११, २०७८
बुटवल, ११ साउन ।
लायन्स क्लब अफ बुटवल देउरालीले वर्ष २०२१–२२ मा ४६ वटा कार्यक्रम सम्पन्न गर्ने गरी महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेको छ । क्लबका नवनिर्वाचित अध्यक्ष ज्ञानप्रसाद पौडेलले क्लबको पहिलो बोर्ड बैठकमा आफ्नो कार्यकालमा ४६ वटा कार्यक्रम सम्पन्न गर्ने प्रस्ताव पारित गरेका हुन् । जसमा क्लबलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी स्थानीय तहसंगको समन्वय र सहकार्यमा सामाजिक सेवासंगै स्वास्थ्य र वातावरण क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्ने रहेका छन् । क्लबले तिलोत्तमा ६ बांसघारीलाई ‘माइ लायन्स भिलेज’ बनाउने र त्यहां वृहत स्वास्थ्य शिविर, गरिब तथा विपन्न परिवारलाई खाना खुवाउने, विपन्न विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री हस्तान्तरण, आँखा शिविर, क्यान्सर स्क्रिनिङ लगायतका कार्यक्रम गर्ने अध्यक्ष पौडेलले बताए ।
त्यस्तै नयाँ लायन्स क्लबहरु गठन, अक्षयकोष स्थापना, देउसीभैलो कार्यक्रममार्फत कम्तीमा ३० लाख रुपैयाँको कोष स्थापना लगायतका कार्यक्रम रहेका छन् ।
वैठकले क्लबको सल्लाहकारहरुमा लोकनाथ पाण्डे, दामोदर ज्ञवाली, रमेश कोइराला, नागेन्द्रप्रसाद आचार्य, कृष्णप्रसाद पाण्डे, तिर्थराज खनाल र दानबहादुर कंडेललाई चयन गरेको छ । यस्तै कानूनी सल्लाहकारमा अधिवक्ता कृष्णप्रसाद पाण्डे र प्रेस सल्लाहकारमा पत्रकार टिआर शर्मालाई चयन गरेको छ ।
बैठकमा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल डिष्ट्रिक्ट चिफ एडभाइजर उमंग देवकोटा, एरिया ४ का एरिया चिफ जीवन गौतम, लायन्स क्लब अफ बुटवल देउरालीका गाईडलाइनर गणेश भट्टराई, संस्थापक अध्यक्ष जोन चेयर पर्सन टिकाराम बन्जाडे लगायतले अध्यक्ष पौडेलले अगाडि सारेका कार्यक्रम सम्पन्न हुँदा लायन्स देउराली देशभरमै उत्कृष्ट क्लब हुने धारणा राखेका थिए ।
क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद भण्डारीले गरेका थिए । यसैबीच लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा एक महिनाभित्रै तीन वटा लायन्स क्लब गठन भएका छन् । क्लबको वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलले २४ दिनमा तीन वटा नयां क्लब गठनसंगै होम क्लबमा ६ जना गरी ८१ जनालाई लायन्स क्लबको सदस्य बनाउन सफल भएका हुन् । नवगठित क्लबहरुमा लायन्स क्लब अफ बुटवल देउराली साकुरा, लायन्स क्लब अफ बुटवल देउराली दिव्य दृष्टि र लायन्स क्लब अफ बुटवल देउराली रेसुंगा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij