
मंगलवार , श्रावण १२, २०७८
बुटवल, १२ साउन ।
बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको तत्काल मर्मतसम्भार र विस्तार गर्न माग गर्दै युवा संघ नेपाल रुपन्देहीले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराएको छ । बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिंड्डुलमा समेत समस्या उत्पन्न भएको छ । खाल्डाखुल्डी तत्काल पुरेर हिंड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।
युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा युवा संघका केन्द्रीय सदस्यहरु, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालय सदस्यसहित अगुवा युवाहरुको टोली उक्त कार्यालयहरुमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघले निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तीबाट आम सर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारवाही अगाडि बढाउन माग गरेको छ । त्यस्तै व्यापारिक मार्ग परियोजना कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल मर्मत सम्भारका काम अगाडि बढाउन र लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले जानकारी दिए ।
त्यस्तै निर्माण कम्पनीको पड्सरीस्थित सम्पर्क कार्यालयमा पुगेर युवा संघले तत्काल मर्मतसम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण अनुसार काम तत्कालै नबढाए ठेकेदारलाई आफूहरुले नै समातेर कानूनी कारवाहीका लागि प्रशासनमा बुझाउने संघको चेतावनी छ । उक्त सडक खण्डको ठेक्का ‘द कञ्चनजंघा विरुवा जेभी काठमाडौं’ले पाएको थियो । पटकपटक म्याद थप्दा समेत उक्त कम्पनीले काम अगाडि बढाएको छैन । सडक निर्माणको काममा निर्माण व्यवसायीको भूमिका बदनियतपूर्ण भएको संघले आशंका गरेको छ । अति संवेदनशिल तथा सम्रग बुटवललाई नै कुरुप बनाएको यस सडकको निर्माण कार्यमा निर्माण व्यवसायीले गरेको अटेरीपना र ढिलासुस्तीलाई अब सहेर नबस्ने संघको चेतावनी छ ।
सीडीओ, व्यापारिक मार्ग र ठेकेदारलाई ध्यानाकर्षण
जिल्लामा भए गरेका सम्पूर्ण काम कारवाहीहरुको नियमन गर्ने निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय भएकाले प्रजिअलाई आवश्यक निर्देशन र अटेरी गर्नेलाई कानूनी कारवाही गर्न माग गरिएको छ । सीडीओमार्फत व्यापारिक मार्ग विस्तार परियोजना र निर्माण व्यवसायीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिएको युवा संघका अध्यक्ष गौचनले बताए । सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ्ग गर्नेे र राजमार्गमा दैनिकी सरसफाईका कामहरु अनिवार्य रुपमा गर्ने व्यवस्था मिलाउने काममा सम्बन्धित निकायलाई आवश्यक निर्देशन प्रदान गर्ने तथा कार्यान्वयन प्रक्रियामा समेत सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षण गराइएको उनले बताए ।
व्यापारिक मार्ग परियोजना कार्यालयलाई कार्यालयमार्फत तत्काल मर्मतसम्भारका काम थाल्न आग्रह गरिएको छ भने ठेकेदारलाई तत्काल काम सुरु नगरे युवा संघले नै नियन्त्रणमा लिएर सीडीओ कार्यालयमा बुझाउने भन्दै ध्यानाकर्षण गराइएको छ । निर्माण कार्यको जिम्मा पाएको कम्पनीका प्रमुख भने अहिले सम्पर्कमा छैनन । उनलाई जिल्ला प्रशासन कार्यालयले खोजी गरिरहेको छ । उनको कार्यालयमा रहेका प्राविधिक अमित पटेललाई युवा संघले उक्त पत्र बुझाएको थियो । तोकिएको समयसिमा भित्रै गुणस्तरीय सडक निर्माण गर्ने र सरसफाईयुक्त तथा धुवाधुलोमुक्त वातावरण सिर्जना गर्ने काममा ढिलासुस्ती र लापरवाही देखाएको खण्डमा निर्माण व्यवसायी कम्पनीविरुद्ध सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिइएको अध्यक्ष गौचनले बताए ।
मर्मत नहुँदा सहर नै कुरुप बन्दै
नेपालको मध्य भागमा रहेको लुम्बिनी प्रदेशको मुकाम बुटवल तीव्र गतिमा विकास भइरहेको नेपालको एक प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको छ । मानव जातिको पूर्खा रामपिथेकसको सभ्यता, तिनाउ–तिलोत्तमा–रोहिणी नदीको सभ्यता, बुद्ध सभ्यताको उद्गम भूमि, प्राचीन व्यवसायको केन्द्र र तत्कालिन इष्ट इण्डिया कम्पनीका (बेलायती) सेनालाई परास्त गर्ने जितगढी युद्धको बिरगाथा बोकेको बुटवल नेपालको एक ऐतिहासिक, सांस्कृतिक, धार्मिक र आर्थिक केन्द्र्रको रुपमा रहेको छ । तर बिडम्बना, बुटवलको बीच भागमा रहेको पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकखण्डको हालत बेहाल छ ।
गोलपार्कदेखि बेलहिया नाकासम्मको यस व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तगत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकखण्ड वर्षौसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धनमा समेत ठूलो अवरोध सिर्जना भएको छ । यहाँको पर्यावरण, यहाँको हरियाली र वातावरणमा समेत ठूलो क्षति पुगेको छ ।
बुटवलको यो खण्डको बाटो भएर हड्ने लाखौं यात्रीहरु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बुटवलका युवा मेघराज भट्टराईले बताए । उनले यस सडक खण्डमा उड्ने धुवाँधुलोले यहाँ गुड्ने सवारी साधन र हिड्ने मानिसको शरिर मात्र होइन, सारा बुटवल नै धुलाम्मे बनाएको बताए ।
युवा संघका केन्द्रीय सदस्य केशब रोकाले बालबच्चा, जेष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिडाँउने अवस्था नै नरहेको बताए । यो खण्डले दैनिक दुर्घटनाहरु निम्त्याएको छ र मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना गरिएको छ । यो एक प्रकारको अपराध हो भन्ने युवा संघको बुझाइ रहेको छ रोकाको भनाइ छ ।
किन भइरहेको छ ढिलाई ?
पछिल्ला केही समययता लगातार पानी परेको र मनसुन समयमै सुरु भएर सुरुकै दिनदेखि झरी लागेकाले निर्माणका काम केही प्रभावित भएका छन् । यद्यपि घाम लागेको बेला र झरी नपरेको बेलामा समेत यहाँका खाल्डाखुल्डी पुर्ने र विस्तारका काम अगाडि बढेका छैनन् । ४–५ वर्षसम्म सडक क्षेत्राधिकार भित्रका संरचनाहरु हटाउने लडाईमा र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माण कार्यमा किन ढिलाई गरिएको छ ?
समयमै काम नहुने र सास्ती जनताले पाउने अवस्था भएकाले आफुहरु सम्बन्धित कार्यालयहरुमा ध्यानाकर्षणका लागि गएको युवा संघका जिल्ला नेता विकासजंग बस्नेतले बताए । बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्दै जाने अवस्था कहिले सम्म ? किन बारम्बार अटेर गरिरहेको छ निर्माण व्यवसायीले ? किन सम्बन्धित सरोकारवालाहरुले निर्माण कार्यको कार्यान्वयन गराउन सकिरहेका छैनन् ? उनले प्रश्न गरे ।
नागरिकको जीवनसंग, नागरिकको स्वास्थ्यसंग, बुटवलको गौरव र सुन्दरतासंग खेलवाड गरिएको विषय आफूहरुका लागि असह्य भएको युवा संघको ठहर छ । । यो परियोजना कार्यान्वयन गर्ने इकाई व्यापारिक मार्ग विस्तार आयोजना र निर्माण व्यवसायी कम्पनी द कञ्चनजंघा विरुवा जेभी काठमाडौंबाट भएको ढिलासुस्ती, गैरजिम्मेवारीपना र लाचारीपनाको विरुद्ध खबरदारी गरिएको र यसलाई पनि अटेरी गर्ने कानुनी कारवाहीका लागि सम्बन्धित निकायलाई सघाउन आफुहरु तयार रहेको संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij