
बुधवार , श्रावण १३, २०७८
भैरहवा, १३ साउन ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राज्यबाट पाउनुपर्ने विभिन्न सेवा सुविधाबाट आफूहरु वञ्चित भएको बताएका छन् । उनीहरुले यो समुदायको हकअधिकार संविधानमा लेखिएको भए पनि कार्यान्वयन पक्ष भने फितलो रहेको गुनासो गरेका छन् ।ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा एक्लोलाई सहारा दिने वृक्ष समूहद्वारा मंगलबार भैरहवामा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वर्तमान अवस्था, कोभिड–१९ को समयमा भोग्नुपरेको चुनौती र समस्या विषयक कार्यक्रममा उनीहरुले कोरोना संक्रमितको तथ्यांक सार्वजनिक हुँदा यौनिक तथा अल्पसंख्यक समुदायको विवरण नराख्दा वास्तविक तथ्यांक आउन नसकेको बताए ।
एक्लोलाई सहारा दिने वृक्ष समूहद्धारा सञ्चालित ओपन सोसाइटी फाउण्डेशन लुम्बिनी प्रदेश संयोजक रेशमा न्यौपानेले निषेधाज्ञाको समयमा कतिपय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आत्महत्या गरेको बताए । उनले निषेधाज्ञाको समयमा एक्लोपन तथा जीविकोपार्जनका लागि समस्या भएका कारण कारण बाध्यताले आत्महत्याको निर्णयमा उनीहरु पुगेको बताए । ‘गास, बास, कपास र रोजगारीको ग्यारेण्टी छैन, यो समुदायका व्यक्तिहरु सडकमा आउन समेत बाध्य छन, सरकारले उपलब्ध गराउनुपर्ने सेवासुविधाबाट हामी वञ्चित भएका छौं ।’
एक्लोलाई सहारा दिने वृक्ष समूहका अनुगमन तथा मुल्यांकन संयोजक टिकाराम भुसालले निषेधाज्ञाको समयामा घर भाडामा बस्नेलाई समस्या बढेको र पछिल्लो समय यो समुदायमाथि दुव्र्यवहार समेत बढेको गुनासो गरे । उनले भने, ‘समलिंगी विवाहलाई मान्यता दिनुपर्छ, हामीमाथि गरिएको विभेदको अन्त्य हुनुपर्छ, क्षमतावान भएर पनि विभिन्न अवसरबाट वञ्चित भएका छौं ।’ समूहका विनोद वि.सी.ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वास्तविक तथ्यांक आउन नसकेको बताए । उनले निषेधाज्ञाको समयमा सिद्धार्थनगर नगरपालिकाले आफूहरुलाई राहत सामग्री दिएको भन्दै नगरपालिकालाई धन्यवाद दिए । ‘हामीले पहिचान खोजेका छौं, हाम्रो बारेमा आवाज तथा उठ्यो तर राज्यले हाम्रो आवाजलाई सुनेन, ’उनले भने ।
अधिकारकर्मी सायरा गुरुङले आफूहरु समानता र हकअधिकारको लागि लड्दै आएको बताइन् । उनले सरकारले आफूहरुका लागि राहत प्याकेज ल्याउन नसकेको गुनासो गरिन् । एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देहीका अध्यक्ष अवन्तिका घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij