२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको सहयोगमा खाद्यान्न वितरण

बुधवार , श्रावण १३, २०७८

भैरहवा, १३ साउन ।
बेलायतमा रहेका भैरहवावासीको समूह सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा भैरहवाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । भैरहवाका ४५ अतिविपन्न परिवारलाई बुधबार खाद्यान्न सामग्री वितरण गरिएको स्थानीय समन्वकर्ता ओम कुमार श्रेष्ठले बताए ।  ४५ घरपरिवारलाई १५ केजी चामल, ५ केजी चिउरा, ५ केजी पिठो, प्याज, चिनी, तेल गरी प्रतिपरिवार २ हजार १ सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

‘हाल बेलायतमा बस्ने भैरहवावासीहरुले सिद्धार्थनगर भैरहवा परिवार–बेलायत नामक समूह स्थापना गरी भैरहवामा रहेका अतिविपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम पठाउनुभएको छ, ’उक्त रकमले समस्यामा रहेका परिवारलाई सहयोग गर्न तथा केही रचनात्मक कार्य गर्न सकिन्छ भनेर अगाडी बढेका छौं, श्रेष्ठले भने ।

शर्मिला हिराचनको संयोजकत्वमा रहेको सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको सहयोगमा यस अघि प्रथम चरणमा निषेधाज्ञाको समयमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज .(युसीएमएसं)मा उपचाररत बिरामी र बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिएको उनले बताए । त्यस्तै दोस्रो चरणमा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी मृृगौलासम्बन्धि रोगबाट  पीडित अर्जुन राना, कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डे र क्यान्सरबाट पीडित सिद्धार्थनगर–८ की मञ्जु रानालाई उपचारका लागि २५÷२५ हजार रुपैयाँ प्रदान गरिएको उनले जानकारी दिए । ‘भैरहवामा रहेका विपन्न परिवारको सहयोगका लागि बेलायतमा बसेर पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने शर्मिला हिराचनको र उहाँको टिमलाई धन्यवाद दिन चाहन्छु,’ स्थानीय समन्वयकर्ता श्रेष्ठले भने ।

हाल बेलायतमा रहेका भैरहवावासीले गरेको सहयोग प्रशसंनीय रहेको समाजसेवी तथा अभिवक्ता प्रख्यात बन्जाडे बताउँछन् ।