
बुधवार , श्रावण १३, २०७८
काठमाडौं, १३ साउन ।
गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकामा हुने हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिकामाथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् । “सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढंगले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उनले भने ।
सञ्जालकी अध्यक्ष कल्याणी रिजालले मुलुकमा पछिल्लो समय महिला हिंसाको घटना बढेको भन्दै महिला तथा बालबालिकामा हुने हिंसाको निष्पक्ष छानविन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई उचित राहतको व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गरेकी थिइन् । सञ्जालले निषेधाज्ञाका समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्या जस्ता अमानवीय र क्रुर घटना बढेको बताएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij