२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स सिद्धार्थनगरद्वारा अविनाश आश्रमलाई खाद्यान्न वितरण

शनिवार , श्रावण १६, २०७८

भैरहवा, १६ साउन । 
लायन्स क्लब अफ सिद्धार्थनगरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमलाई खाद्यान्न सामग्री वितरण गरेको छ । आश्रमलाई आवश्यक खाद्यान्न सामग्रीहरु क्लबका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यको सहयोगमा शनिबार वितरण गरिएको कार्यक्रम संयोजक आनन्द खनालले बताए ।  ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत आश्रमलाई आटा ५० केजी, प्याज ४० केजी, आलु ५० केजी, तेल २० लिटर, बिस्कुट २ कार्टुन, साबुन ४ दजैन, टुथब्रस, टुथपेष्ट, नुन, चकलेट प्रदान गरिएको खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द थापाले जुलाई महिनामा वातावरण र हंगर रिलिफ अन्तर्गतका कार्यक्रमहरु भइरहेको बताए । उनले लायन्स क्लब र नेपाल अविनाश अनाथ आश्रमबीच प्रगाढ सम्बन्ध रहेको बताए । ‘धन मात्र भएर हुँदैन, मन पनि चाहिन्छ भनेझैं लायन्स सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यले खाद्यान्न सामग्री सहयोग गरेर पुनित कार्य गर्नुभएको छ, ’उनले भने ।

लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले आवश्यक परेको बेला क्लबका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यले सहयोग गर्दै आउनुभएको बताए । उनले सामाजिक उत्तरदायित्वको भावनाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले लायन्स क्लब अफ सिद्धार्थनगरले पटकपटक आश्रमलाई सहयोग गर्दै आएको बताए । उनले आश्रममा शौचालय र स्नानघरको केही समस्या रहेकोले त्यसको लागि पनि लायन्स क्लबले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यले आश्रममा प्रत्येक वर्ष क्लबले केही न केही कार्यक्रम गर्दै आएको बताए । उनले क्लबले पुनः आश्रमलाई सहयोग गर्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटस वर्ष २०२१/२२ का अध्यक्ष मञ्जु खरेलले लायन्स सिद्धार्थनगरले राम्रो काम गरेको बताइन् ।

लायन्स क्लब अफ सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, कार्यक्रम संयोजक आनन्द खनालको स्वागत, खगेन्द्र शर्माको झण्डा अभिवादन तथा सचिव धर्मराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आश्रममा हाल २३ जना बालबालिका आश्रित छन् । क्लबले यस अघि लुम्बिनीस्थित तेनुहवा सामुदायिक माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको क्लबका कोषाध्यक्ष उमेश थापा मगरले बताए ।