
आइतवार , श्रावण १७, २०७८
भैरहवा १७, साउन। भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडले टनेल खेती सुरु गरेको छ। अन्र्तराष्ट्रिय गैर सरकारी संस्था जीआईजेडको आर्थिक सहयोगमा सहकारीले निर्माण गरेको टनेलमा उन्नत जातको टमाटर खेतीको सुरुवात गरेको हाे।
सहकारीले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ गोनहियामा साढे ४ बिगहा जग्गा १० बर्षको लागि भाडामा लिई तरकारी खेती सुरु गरेको छ। त्यस जग्गामा अहिले सहकारीले टनेल निर्माण गरी मौषमी एवम् बेमौषमी तरकारी खेती गर्ने जनाएको छ।
अन्र्तराष्ट्रिय गैर सरकारी संस्था जीआईजेडको आर्थिक सहयोगमा सहकारीले गोनहियामा २ वटा आधुनिक टनेल निर्माण गरि आधुनिक तरकारी खेती सुरु गरेको छ।
सहकारीका अध्यक्ष शिवहरि अधिकारीले दिएको जानकारी अनुसार ११ लाख २८ हजार लागत अनुमान गरिएको उक्त प्रविधिको लागि जीआईजेडले ६ लाख ७१ हजार रुपैया प्रदान गरेको थियो। जसमध्ये टनेल निर्माणमा मात्र ६ लाख ९५ हजार खर्च भएको अधिकारीको भनाई छ। ४ लाख ५७ हजार रुपैया सहकारीले लगानी गरि त्यस सम्बन्धि आवश्यक प्राविधिक तालीम, बिउबिजन, औजार लगायतको सामाग्री खरिद गरिने उनले जानकारी दिए।
टमाटर खेतीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले टमाटर लगाएर शुभारम्भ गरे। सो अबसरमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख अधिकारीले सरकारी अनुदानको सदुपयोग गर्नु पर्ने धारणा राखे। उनले अहिले पनि अन्र्तरािष्ट्रय गैर सरकारी संस्थाहरुले मागेको कागजात किसानले पुरा गर्न नसकेको कारण कागजात मिलाएर अनुदान खानेहरु बढेको बताए। प्रमुख अधिकारीले नगरपालिकाको सम्पत्तिको रुपमा रहेको सहकारी मार्फतको सामुहिक खेती सराहनिय रहेको बताए। उनले योजना र काम गर्ने जाँगर भए नगरपालिका आफै वा सम्बन्धित निकायसंग सहकार्य गरेर भए पनि कृषिमा लगानी गरिने जनाए।
तापक्रम अत्यधिक भएका तराईका क्षेत्रमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, अल्मुनियम नेट तथा जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिने भएकोले अहिले यसको प्रयोगमा लागेको सहकारीका सचिव भानु पौडेलले जानकारी दिए।
नेपाल बहुमुखी सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त टनेलको उदघाटन गरेको छ। सहकारीका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षता तथा सचिव भानु पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाको उप प्रमुख उमा काफ्ले, वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष एवम आर्थिक समिति संयोजक थानेश्वर पौडेल, सहकारी विज्ञ चन्द्रकान्त भट्टराई, उद्योग ब्यपार संगठनका महासचिव अनिल ज्ञवाली, सहकारीका सल्लाहकार कुलानन्द ज्ञवाली लगायतले बोल्दै सहकारीलाई वचत तथा ऋण प्रदान गर्ने मात्रै नभई कृषिमा पनि प्रभावकारी काम गर्न आग्रह गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij