
सोमवार , श्रावण १८, २०७८
दाङ, १८ साउन ।
भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले दाङको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले अस्पताललाई १० थान अक्सिजन सिलिण्डर, १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ८ थान लगायतका सामग्री आइतबार सहयोग गरेको हो । त्यस्तै अस्पताललाई अक्सिजन रेगुलेटर १० थान, पीपीई २ सय सेट, सर्जिकल मास्क १ हजार सेट, सर्जिकल क्याप २ सय सेट, फेस शिल्ड २ सय पिस, सुज कभर २ सय सेट, ग्लोब्स २ सय र स्यानिटाइजर १ सय २० लिटर प्रदान गरेको संस्थाका निर्देशक धर्म बहादुर केसीले बताए ।
अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा प्रतिष्ठानले कोभिड–१९ बाट प्रभावितका लागि राहत तथा सहयोग कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पतालहरूमा स्वास्थ्य सामग्रीहरू प्रदान गरेको समेत उनले बताए । निर्देशक केसीले राप्ती प्रादेशिक अस्पतालका लागि ल्याइएको स्वास्थ्य सामग्री दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा बोल्दै प्रजिअ कुरुम्बाङले यसरी आवश्यक सामग्री प्रदान गर्नु दाङका लागि ठूलो राहत भएको बताए । उनले दोस्रो लहरको कोरोना महामारीमा सबैभन्दा बढी अक्सिजनको अभाव व्यहोरेको भन्दै त्यसका लागि जिल्लामा धेरै ठाउँहरूमा अक्सिजन उद्योग स्थापना भएका र अब सहज हुने समेत बताए । उनले तेस्रो लहरका धेरै भन्दा बढी प्रभावित बालबालिकाहरू हुने भन्ने विज्ञहरूले भनिरहेको अवस्थामा आफूहरूले अस्पतालमा बालबालिकाहरूको लागि बेडहरुको ब्यवस्था पनि गर्न लागेको बताए । प्रजिअ कुरुम्बाङले तेस्रो लहरमा स्वास्थ्यकर्मीहरू पनि धेरै व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आफूहरूले त्यसतर्फ पनि ध्यान दिइएको बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. पदमराज अधिकारीले संस्थाले दिइएको स्वास्थ्य सामाग्रीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई धेरै राहत हुने समेत बताए । उनले महामारीको समयमा आफूहरू अग्रपंक्तिमै खटिएर काम गर्दै आइरहेको भन्दै उनले यस सहयोगबाट थप उर्जा मिल्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij