२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देही युवा समूहद्वारा अनाथलाई खाना

शनिवार , भाद्र २०, २०७७

भैरहवा, २० भदौ ।
नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा–१५ कोटिहवामा आश्रित बालबालिकाहरुलाई यहाँको एक युवा समूहले खानाको व्यवस्था गर्नुका साथै खाद्यान्न हस्तान्तरण गरेको छ ।

रुपन्देही युवा समूह तिलोत्तमा नगर समितिले कोभिड–१९ ले पारेको असरका कारण अनाथ आश्रममा आश्रित बालबालिका पनि प्रभावित भएको ठहर गर्दै शनिबार आश्रममै पुगेर बालबालिकालाई खाना खुवाउने व्यवस्था मिलाएको हो । 

त्यस अवसरमा विभिन्न खाद्यान्न पनि युवा समूहले सहयोगस्वरुप उपलव्ध गराएको समूहका नगर उपाध्यक्ष सुशान्त बस्यालले बताए । आश्रममा रहेका १८ जना बालबालिकाहरुका लागि समूहले खाद्यान्न सहयोग गरेको हो ।

त्यस अवसरमा बोल्दै समूहका संस्थापक आनन्द प्रसाद गुप्ताले मानवीय र सामाजिक काममा सधै लागिरहन युवाहरुलाई आग्रह गरे । उनले यस्ता अनाथ आश्रमहरु देशभरि थुप्रै रहेको भन्दै राज्यले गर्नुपर्ने सहयोग युवाहरुले गरेकोमा धन्यवाद दिए । उनले देशभरी धेरै आश्रम चलाउनु भन्दा अनाथ बालबालिकाहरुलाई एउटै ठूलो भवनमा सुरक्षित साथ राख्ने गरी सरकारले व्यवस्था मिलाउनुपर्ने माग समेत गरे । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईले युवाहरुले गरेको कार्य अनुकरणीय रहेको भन्दै सामाजिक काममा लाग्दा सबैको साथ र सहयोग रहने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले जुनसुकै समूहले गर्ने रचनात्मक काम र आश्रमको विकासका लागि पनि सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले आश्रममा आश्रित बालबालिकाको अवस्था र भौतिक पूर्वाधारको बारेमा जानकारी गराएका थिए ।