२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पत्रकार महासंघद्वारा आगामी कार्यदिशा केन्द्रीत छलफल

पत्रकार आचारसंहिता कार्यान्वयन गर्न सुझाव

मंगलवार , श्रावण १९, २०७८

बुटवल, १९ साउन ।
पत्रकार आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितता गर्दै पत्रकारलाई आचारसंहितामा कस्न जरुरी रहेकोमा उनीहरूको जोड छ । नेपाल पत्रकार महासंघ, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केन्द्रित छलफल कार्यक्रममा बोल्दै पत्रकारहरुले आचारसंहिता कार्यान्वन गर्दै पत्रकार पे्रेसप्रति भइरहेको दुरूपयोग रोक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघले रुपन्देहीको पत्रकारिताको इतिहास खोतलेर अनुसन्धान गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको गरिमा उचो बनाउने गरि काम गर्ने सवालमा सदैव साथमा रहने बताए । महासंघका पूर्व अध्यक्ष विनोद पहाडीले पत्रकारहरुको क्षमता अभिवृद्धि र पेशागत सुरक्षामा पत्रकार महासंघ केन्द्रित हुनुपर्ने बताए । उनले महासंघले बहुआयामिक योजनाका साथ बहुउद्देश्यीय भवनसहित रिसर्च भवन बनाउन पहल गर्नुपर्ने बताए ।

त्यस्तै पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारिता पेशालाई सम्मानित बनाउन आचारसंहिता कार्यान्वयन गर्न महासंघले पहलकदमी लिनुपर्ने बताए । उनले पत्रकारिता पेशाको गरिमा र मर्यादा कायम राख्ने गरी काम गर्न समेत सुझाव दिए ।  पूर्व अध्यक्ष मोहन चापागाईले पत्रकारिता पेशागत हकहित, क्षमता अभिवृद्धि गर्दै पत्रकारका लागि चाहिने साधनस्रोत खरिदको लागि सहुलितको लागि महासंघले भूमिका खेल्नुपर्ने बताए । चापागाईले सरकारी साधनस्रोतको उपयोग गरेर सरकारी बजेट मिडियामा ल्याउनुपर्ने बताए । 

महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले सामाजिक सञ्जाललाई नै पत्रकारले अमर्यादित बनाएको भन्दै त्यसको आचारसंहिता पालना गर्नुपर्ने बताए । उनले पत्रकार आफ्नो मर्यादा बाहिर जान नहुने बताए ।  त्यस्तै महासंघका निर्वतमान अध्यक्ष तथा सल्लाहकार यानेन्द्र जिसीले पत्रकारिता पेशाको सुरक्षाको लागि क्षमता अभिवृद्धिमा ध्यान दिन जरुरी रहेको बताए ।
महासंघका सल्लाहकार दिनेश पाण्डेले पत्रकारको शुद्धिकरण जरुरी रहेको बताए । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकार आचारसंहिता पालना गराउन नियमित प्रशिक्षण आवश्यक रहेको बताए । त्यस्तै महासंघका निवर्तमान सल्लाहकार नारायण प्रसाद सापकोटाले पत्रकार महासंघमा वितरण हुने पारदर्शी बन्नुपर्ने बताए । निर्वतमान सल्लाहकार माधव नेपालले रुपन्देहीमा काम गर्ने पत्रकारको ठूलो अभाव रहेको भन्दै वास्तविक पत्रकारको संस्था महासंघ बन्नुनर्पे बताए । त्यस्तै महासंघका निर्वतमान सल्लाहकार खिमानन्द भट्टराईले पत्रकारको शुद्धीकरण संगठनबाट गर्न आवश्यक रहेको बताए । उनले मिडिया हाउस महासंघको संयुक्त पहलमा क्षमता अभिवृद्धिका तालिम चलाउनुपर्ने बताए । निर्वतमान सल्लाहकार चेतन पन्तले अन्तर्राष्ट्रिय मिडियासंग प्रतिष्पर्धा गर्नुपर्ने बताए । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालले नयाँ पत्रकारहरुलाई आधारभूत र पुराना पत्रकारलाई बिट तालिम चलाउनुपर्ने बताइन् ।

प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष अमृत गिरीले आचारसंहिताका पूर्ण पालना गराउने श्रमजीवी पत्रकारको पक्षमा महासंघले काम गर्न जरुरी रहेको बताए । प्रेस संगठन रुपन्देहीका संयोजक कमल रायमाझीले पत्रकारको न्यूनतम पारिश्रमिकको लागि मिडिया हाउसको अनुगमन गर्नुपर्ने बताए । प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले पत्रकारप्रति समाजले हेर्ने दृष्टिकोण नराम्रो बनेको भन्दै पत्रकारलाई सच्चाउनुपर्ने बताए ।
प्रेस मञ्च, नेपालका सचिव टोपराज शर्माले मिडिया हाउसहरुले सञ्चित र आपतकालिन कोष बनाउन जरुरी रहेको बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले प्रेसको दुरुपयोग रोक्न टिम बनाउन आवश्यक रहेको बताए । संघीय पत्रकार परिषदका सोनु थापाले कोभिड प्रभावित पत्रकारको पहिचान गरी उनीहरुलाई पलायन हुनबाट रोक्नुपर्ने बताए । सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले मिडिया हाउसमा लैगिंकमैत्री नीति बनाउनुपर्नेमा सुझाव दिइन ।
क्रियाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष कल्पना तिवारीले मिडिया हाउन लैगिंकमैत्री बन्नुपर्ने बताइन् ।  महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको राय सुझाव कार्यान्वन गर्दै जाने बताए । महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत, महिला उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको सम्पन्न भएको थियो ।