२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

म्याद सकिएका बस्तुमा नयाँ लेवल राखी बेच्ने प्रक्राउ

मंगलवार , श्रावण १९, २०७८

काठमाडौँ, १९ साउन । 

म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको हो । दुई जनाले म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको गुनासोका आधारमा विभागले प्रहरीको समन्वयमा आइतबार काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका–१५ सानो भर्‍याङस्थित रहेको समीट कमर्सियल प्रालिमा छापा मारेको थियो ।

कम्पनीले उत्पादन गर्ने म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । गोदाममा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानको काम शुरु भएको छ । “हामीले थाहा पाएसम्म भारतलगायतका देशबाट उक्त वस्तुको आयात गरी खुद्रा तथा होलसेललाई बिक्री गर्ने गरेका रहेछन् । उनीहरुले कस्मेटिकका मात्र सयौँ प्रकार रहेको भनेका छन् । थप वस्तु तथा तीनका प्रकारको विषयमा अनुसन्धान शुरु भइसकेको छ”, उनले भने । रासस