२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

सडक दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायको घाँटीमा ‘रिफ्लेक्टिब स्टिकर’

बुधवार , श्रावण २०, २०७८

भैैरहवा, २० साउन । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सडकमा छाडिएका छाडा चौपायको घाँटीमा ‘रिफ्लेक्टिब स्टिकर’ लगाउन सुरु गरेको छ । छाडा चौपायका कारण सवारी दुर्घटनाको सम्भावना बढेको भन्दै ट्राफिक प्रहरीले रिफ्लेक्टिब स्टिकर लगाएको हो । सडकमा रहेका गाईगोरुको घाँटीमा स्टिकर लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक दामोदर मल्लले बताए ।

रातको समयमा सडकको बीचमा छाडा चौपाय बस्दा सवारी आवागमनमै अवरोध भएकाले टल्किने स्टिकर बाँधिएको मल्लले बताए । सडकमा बसेका चौपायका कारण दुर्घटनाको जोखिम समेत बढेकाले स्टिकर लगाइएको उनले बताए । बुधबार भैरहवाको बर्मेलीटोल, मिलनचोक, देवकोटाचोक र गल्लामण्डी सडकमा भेटिएका गाईगोरुको घाँटीमा स्टिकर लगाइएको मल्लले जानकारी दिए ।

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पार्किङलाई व्यवस्थित गर्न ‘रोड मार्किङ’ समेत सुरु गरेको छ । पार्किङलाई थप व्यवस्थित बनाउन रोड मार्किङ सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवस बहादुर जि.सी.ले बताए ।

सिद्धार्थनगर नगरपालिका भित्रका सडकमा गाईगोरु जथाभावी छाड्ने गरिएको कारण सवारीसाधन व्यवस्थापनमा चुनौती थपिएको छ । छाडा चौपाय व्यवस्थापन गर्न स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको समाजसेवी प्रख्यात बञ्जाडे बताउँछन् । 


IMG_1358.JPG