२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

लुम्बिनी प्रेस क्लब र पत्रकार महासंघ रुपन्देहीबीच अन्तरक्रिया

शुक्रवार , श्रावण २२, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २२ साउन ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफ्नो कार्यकालमा सम्पूर्ण क्षेत्रलाई समेटेर लैजाने बताएका छन् । पत्रकार महासंघ रुपन्देहीले नियमित रुपमा गर्ने बैठक समेत हरेक क्षेत्रमा गर्ने निर्णय गरेको बताए ।  बैठक फरक फरक ठाउँमा हुने र रुपन्देहीका १६ वटै स्थानीय तहमा बैठक बस्ने समेत छलफल भइरहेको उनले बताए ।

    लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ रुपन्देहीबीच शुक्रबार क्लबको कार्यालय भैरहवामा भएको छलफल एवं अन्तरक्रियामा बोल्दै अध्यक्ष पोखरेलले कोभिडको महामारीका बेला पत्रकारहरु विस्थापित हुने अवस्था नआओस् भनेर पत्रकार महासंघ अभिभावक रहेकोले राहतको कार्यक्रम गरेको बताए । ‘मेरो कार्यकालमा क्षेत्रीय भेद्भाव हटाउने पहिलो प्राथमिकता रहेकोले औपचारिक कार्यक्रम, तालिमका कार्यक्रम गर्दै अगाडि बढ्ने छौं, ’उनले भने ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रका क्रियाशील पत्रकारहरुको साझा संस्था रहेको बताए । ‘पत्रकार महासंघ रुपन्देहीले गर्ने हरेक कार्यमा लुम्बिनी प्रेस क्लबले पनि संस्थागत सहभागि भएर कार्य गर्न तयार छौं,’ अध्यक्ष केसीले भने ।

    क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले देउसीभैलो खेल्ने क्रममा लुम्बिनी प्रेस क्लब जन्मिएको र भैरहवा क्षेत्रमा रहेका क्रियाशिल पत्रकारको साझा संस्था भएको बताए । उनले पत्रकारको संख्या वृद्धि भइरहेकोले प्रशिक्षित गराउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।

    लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष प्रकाश न्यौपानेले रुपन्देहीमा पत्रकार धेरै भए तापनि अब गुणस्तरीय पत्रकार उत्पादन गर्नुपर्ने बताए । महासंघको चुनाव जित्नका लागि पत्रकारको महासंघको सदस्यता दिने प्रचलन रहेको बताउँदै अहिलेको पत्रकार महासंघ रुपन्देहीको नेतृत्वले वास्तविक पत्रकारलाई मात्रै सदस्यता दिन आग्रह गरे ।

    क्लबका तालिम समिति संयोजक दिपेन्द्र बडुवालले लुम्बिनी प्रेस क्लब छुट्टै संस्था भए तापनि पत्रकार महासंघ रुपन्देहीभित्रकै संस्था रहेको । महासंघ लुम्बिनी प्रेस क्लबको अभिभावक रहेकोले हरेक क्रियाकलापमा सहभागि गराउन बडुवालले आग्रह गरे ।

    क्लबका निवर्तमान कोषाध्यक्ष दिपक घिमिरेले महासंघ बुटवल र भैरहवा भनेर अगाडी बढ्नुभन्दा जिल्लाको साझा संस्थाको रुपमा अगाडी बढाउनुपर्ने बताए । उनले अनलाइन मिडियालाई पनि पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्तै प्राथमिकता दिन आग्रह गरे ।

    लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य शशि पन्थी, रबिन्द्र प्रताप गुप्ता, सदस्य शोभाकान्त रेग्मी लगायतले बोल्दै रुपन्देही पत्रकार महासंघ बुटवल मात्रै केन्द्रित नभई रुपन्देही जिल्लाभरीका पत्रकारलाई समान रुपले हेर्न आवश्यक रहेको बताए ।