
शुक्रवार , श्रावण २२, २०७८
भैरहवा, २२ साउन ।
अवैध लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थायी ठेगाना भइ हाल वडा नम्बर २ मैनाबगर ढोरपाटन पथमा भाडामा घर लिइ बस्ने ४५ वर्षिय सानुदेवि पुन, नवलपरासीको सरावल गाँउपालिका–४ का ३५ वर्षिय सुभादेवी हरिजन र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ खजहनाका ४२ वर्षिय प्रकाश बानिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुको साथबाट २ एमएलको सेरिज्याक ४७६ एम्पुल, नुफिन ४६२ एम्पुल, फेनारागन ४५७ एम्पुल, नाईट्रसोन ७० ट्याब्लेट, नाईट्राभेट ६७५ ट्याब्लेट, लु ६१ प ८९६८ नम्बरको यामाहा मोटरसाइकल र मोबाइल सेट ४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
बिहीबार दिउँसो २ बजे बुटवल उपमहानगरपालिका–२ स्थित मैनाबगरमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट टोलीले सुक्ष्म रुपमा बुझदै जाँदा उक्त लागुऔषध फेला परेको डीएसपी थापाले जानकारी दिए ।
मैनाबगरस्थित सानुदेवी पुनको कोठाभित्र सानुदेवि, प्रकाश बनिया र सुभादेवी हरिजनलाई लागूऔषध कारोबार गर्न लागेको अवस्थामा फेला पारी खानतलासी गर्दा लागुऔषध समेत बरामद गरी उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij