
शुक्रवार , श्रावण २२, २०७८
भैरहवा, २२ साउन ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीकोे २४७ औं नियमित बैठक शुक्रबार भैरहवामा सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्राध्यापक डाक्टर शतदल चौधरीको अध्यक्षतामा रोक्ट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोक्ट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी र रोक्ट्रयाक्ट क्लब अफ सेन्ट्रल बुद्धल्याण्डसहित संयुक्त बैठक सम्पन्न भएको हो । बैठकमा क्लबका अध्यक्ष डा. चौधरीले पाँच लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । डा. चौधरी र उनकी धर्मपत्नी डा. सुशीला पटेलको सहयोगमा माता ज्ञानमति चौधरी र पिता हरिहर प्रसाद चौधरीको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । सो कोषको ब्याजबाट आउने रकमले भैरहवा क्षेत्रका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष डा.चौधरीले बताए ।
बैठकमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र लुम्बिनी नेत्रालयबीचको सहकार्यमा १ सय जना मोतियाविन्दु भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया (अप्रेशन) गर्ने पनि सम्झौता भएको छ । नेत्रालयका सञ्चालक तथा प्रबन्ध निर्देशक एवं क्लबका निवर्तमान अध्यक्ष हिरा बहादुर शाहले उक्त कार्यमा सहकार्य गर्ने बताए ।
बैठकमा प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर रोशन रिजालले ३ जना नयाँ सदस्यहरुलाई पिन लगाएर सपथग्रहण गराएका थिए । उनले शुक्रबार नै बेलहिया–बुटवल सडकखण्ड अन्तर्गत आँखा अस्पताल नजिकै क्यासल होटल अगाडी रोटरी गार्डेनको पनि उद्घाटन गरेका छन् ।
बैठकमा प्रत्येक महिना एक जना सदस्यलाई सम्मान गर्ने पनि अध्यक्ष डा. चौधरीले बताए । यस अघिको वेष्ट अफ अवार्डबाट राम अर्याल सम्मानित भएका थिए । उनलाई प्रमुख अतिथि रिजालले मेडल प्रदान गरेर सम्मान गरेका थिए । यो कार्यलाई निरन्तरता दिदै जाने अध्यक्ष डा. चौधरीले घोषणा गरेका छन् । बैठकमा रोटरीयन देवी गुरुङ, कृष्ण प्रसाद पाण्डे, एजाज आलम लगायतको समेत उपस्थिति रहेको थियो ।
यसैबीच क्लबका अध्यक्ष प्रा.डा.चौधरीको पहलमा आजै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालाई निःशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । अस्पताललाई २० वटा पीपीइ किट, १ हजार थान ग्लोब्स, १ हजार थान मास्क गरी ५० हजार बराबरको सहयोग गरिएको छ ।
स्वास्थ्य सामग्री अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय पिएस,मेडिकल सुपरिटेण्डेण्ट डा. सदनमुखी र प्रशासन संयोजक तेजप्रसाद केसीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
सो अवसरमा क्लबका सचिव कृष्ण प्रसाद अधिकारी, संस्थापक अध्यक्ष विमल सेञ्चुरी, निवर्तमान अध्यक्ष हिरा बहादुर शाह लगायतको उपस्थिति रहेको थियो । क्लबका कमिटी चेयर प्रियाबन्धु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक कार्यमा क्रियाशिल क्लबले स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij