२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु

आइतवार , श्रावण २४, २०७८

भैरहवा, २४ साउन ।
‘मास्क लगाऔं, महामारीबाट बचौै, लकडाउन ननिम्त्याऔं’ भन्ने नाराका साथ आइतबारदेखि रुपन्देहीमा सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहकार्यमा कार्यक्रम सुरु भएको हो । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । उनले कार्यक्रम सफल पार्न आग्रह गर्दै कोरोनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरे ।

सचेतना कार्यक्रमको शुभारम्भ गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले वैशाख १६ देखि आजको दिनसम्म विभिन्न प्रकृतिका निषेधाज्ञा अवलम्बन गरिएको बताए । उनले पछिल्लो समय कोभिडको यात्रा उकालो लागेको अवस्था रहेको र छिमेकी जिल्लामा निषेधाज्ञा जारी गरिएको बताए । ‘नेपाल सरकारले नेपाल मास्क अभियान शनिबारदेखि सुरु गरेको छ, सोही अभियान अन्तर्गत दुईवटा कार्यक्रम सुरु गरिनेछ, प्रजिअ तामाङले भने, पहिलो मास्क र यसको उपयोगिताबारे जानकारी गराइनेछ, दोस्रो लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त जनशक्तिबाट एन्टिजन परीक्षण गरिनेछ ।’
कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न नेपाल मास्क अभियान अन्तर्गत एन्टिजन परीक्षण जिल्ला प्रशासन कार्यालय र बढी भिडभाड हुने सरकारी कार्यालय, बजार क्षेत्रमा सञ्चालन गर्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोरोना संक्रमण अन्त्य नभएकोले उद्योगी व्यवसायी र नागरिक निषेधाज्ञाको मारमा परेको बताए । उनले समयमै सचेत हुन नसके र स्वास्थ्य मापदण्ड पालना नगरे पुनः उपलब्ध सेवाहरु अवरुद्ध हुन सक्ने बताए । अध्यक्ष शर्माले कोरोना संक्रमण सचेतना कार्यक्रम जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सुरुवात गरिएको बताए । अभियानलाई रुपन्देही जिल्लाभरी नै सञ्चालन गरेर सफल बनाउने उनको भनाइ थियो । ‘अझै पनि केही उद्योगी व्यवसायीले स्वास्थ्य मापदण्ड पालना नगरेको अवस्था छ, कोरोना संक्रमण बढे अहिले सञ्चालनमा आएका उद्योग व्यवसाय बन्द गर्ने अवस्था आउन सक्छ, त्यसैले सचेतना अपनाउन आवश्यक छ, ’उनले भने । निषेधाज्ञा खुकुलो हुनेबित्तिकै केही लापरवाही देखिएकोले मास्क नलगाई नहिड्न उनले आग्रह गरे ।
ठूलाठूला उद्योगीहरुले पनि आफ्ना कर्मचारीलाई मास्क लगाउन प्रेरित गर्न उनले आग्रह गरे । जिल्ला प्रशासन कार्यालयले मास्क बैंक स्थापना गरेको शर्माले बताए ।

IMG_1648.JPG

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रतिनिधि होम प्रसाद खनालले मास्क कहाँ लगाउने र कसरी लगाउने भन्ने विषयमा थाहा पाउन आवश्यक रहेको बताए । उनले नाक भन्दा तल मास्क लगाउने बानीलाई सुर्धान आवश्यक रहेको बताए । खनालले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र कोरोना महामारी नियन्त्रण गर्न मास्क नै सबैभन्दा प्रभावकारी उपाय भएको भन्ने कुरा सबैले बुझिसकेको बताए । ‘समयसमयमा मास्क फेर्नुपर्छ, नभए कम्तीमा पनि एकदिन लगाएको मास्क अर्को दिन अनिवार्य रुपमा फेर्नुपर्छ,’ उनले भने । सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रममा मास्कसम्बन्धि जानकारी दिनुका साथै मास्क समेत वितरण गरिने सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य समिति उपसमिति संयोजक गोपाल भण्डारीले जानकारी दिए ।

IMG_1668.JPG