
आइतवार , श्रावण २४, २०७८
नैनीताल, २४ साउन ।
कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिए । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उनले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताए । “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०÷६० जना नेपाली छौँ”, उनले भे, “शुरुआतमा भारी बोक्न गाह्रो हुन्थ्यो, अहिले त बानी परिसक्यो ।”
उनी अन्य नेपालीसँगै तल्लीतालमा डेरा गरी बस्छन् । आफू १३ वर्षको उमेर हुँदा मजदूरका लागि आएको सुनाउँदै उनले यहाँको कडा परिश्रमले नै परिवारको खर्च चलिरहेको बताए । “कुनै दिन त सामान बोक्न नपाए त्यसै पनि बस्नुपर्ने हुन्छ”, उनले भने, “एक क्विन्टलसम्मको भारी बोकेर डाँडाकाडासम्म पुगेको छु ।” नैनीताल शहर उत्तराखण्डको नैनीताल जिल्लाको सदरमुकाम पनि हो । भारत तथा नेपालीको पर्यटकीय रोजाइमा पर्ने सो क्षेत्र गर्मीका मौसममा पर्यटकले भरिभराउ हुन्छ ।
पर्यटकीय सवारीसाधन आवागमनमा सहजता भए पनि त्यहाँ ठूला मालवाहक सवारी चल्न रोक लगाइएको छ । चारैतिर पहाड र बीचमा आकृर्षक ताल रहेको यहाँ नेपाली प्रायः भरिया काम गर्दै आएका छन् । “कोरोनाको दोस्रो लहरका बेला पनि घर नगई यति बिताए”, उनले भने, “ अरु बेला घर आउने जाने भइरहन्छ ।” साठी वर्षीय वुद्ध बुढा त समाचारका प्रतिनिधि पात्र मात्रै हुन । उनी जस्तै वृद्ध तथा नेपाली युवा पनि नैनीताल र आसपासका क्षेत्रमा वर्षौंदेखि भरियाका रुपमा मजदूरी गरेर जिविका चलाइरहेका छन् ।
त्यसैगरी कैलालीको लम्कीका ४५ वर्षीय लक्ष्मण जोशीले पनि भरिया काम गर्न थालेको १८ वर्ष भयो । “कोरोना कहरमा घर गएको थिए”, तलाउ छेउमा सामान ढुवानीमा भेटिएका उनले भने, “महिनाभरमा रु २० देखि २५ हजार भारुसम्म कमाइ हुन्छ ।”
उनले कोरोनाले सुनसान बनेको नैनीताल क्षेत्र केही दिनयता सामान्य बन्दै जाँदा पर्यटकको आवागमन बढेको जानकारी दिए । नैनीताल, खुर्पा ताल, भीम ताललगायत यहाँका क्षेत्रमाम करिब चार÷पाँच सय नेपाली कार्यरत छन् । “महामारीका बेला धेरै नेपाली बेरोजगार बसे”, उनले भने, “कोरोनाको डरले घर गएका धेरै त फर्किएका छैनन् ।” उनले दुई छोराको पढाई खर्च र परिवारको अन्य खर्च भारी बोकेको कमाइले चलिरहेको बताए ।
“नेपालमा रोजगारी भए त यहाँ भारी बोक्नु किन आउनु”, उनले भने, “यहाँ चिसो मौसम भएकाले मजदूरी गर्न ठिकै हुन्छ ।” त्यसैगरी कालीकोटका कालीकोटका धनबहादुर रावत पनि अढाइ दशकदेखि नैनीताल क्षेत्रमा मजदूरी गरेर परिवारको पालनपोषण गरिरहेका छन् । “नेपालमा रोजगार भए कहाँ किनु आउथ्यौँ र हजुर”, उनले भने, “यहाँ भारी बोक्ने अधिकांश नेपाली नै हुन् ।”
नैनीताल क्षेत्रमा सिमेन्ट, छठलगायत विकास निर्माण सामग्री, ग्यास, अन्य घरायसी सामान ढुवानी गरेरबापत दूरीका हिसाब र तौलका हिसाबले रकम मिल्ने गरेको छ । “ताल छेउ वरपरमाथि करिब एक किलोमिटरसम्म पनि घर छन्”, रावतले भने, “नेपालीले भारी बोकेरै यहाँका मालिकका ठूलाठूला घर बनेका हुन् ।” कोरोनाको पहिलो र दोस्रो चरणमा पाँच महिना नेपाली मजदूर कामविहीन बनेका थिए ।
त्यसैगरी कालीकोटका प्रेम सार्कीले आर्थिक अवस्था कमजोर हुँदा आफू यहाँ आएर भारी बोक्न बाध्य रहेको पीडा पोखे । “यहाँ आएर भारी बोक्न थालेको पनि १६ वर्ष भयो”, उनले भने, “परिवार छाडेर यहाँ भारी बोक्नु बाध्यता हो ।”
नैनीतालमा भरियाका साथै सडक निर्माण, होटलमा कामदारका रुपमा पनि नेपाली कार्यरत छन् । उहाँले मुलुकमा जस्तोसुकै व्यवस्था आए पनि आफूहरु घर छाडेर मजदूरीका लागि पलायन हुनु नियति नै बनेको दुखेसो पोखे । “जोसुकै सरकारमा आउन, जस्तो व्यवस्था आए पनि यहाँ भारी नबोकी हाम्रो त गुजारा नै हुँदैन”, उनले भने, “स्वदेशमा रोजगारी भए युवा पिँढी बाहिरिनु पर्दैन ।”
प्रशान्त होटलमा विगत २३ वर्षदेखि काम गर्दै आएका बझाङ तल्कोटका प्रेम विष्ट नेपाली नैनीताल क्षेत्रमा लामो समयदेखि मजदूरी काम गर्दै आएको बताउ । “घर नगएको आठ वर्ष भयो”, उनले भने, “परिवार र छोराछोरी पनि यतै साहुजीले राम्रो व्यवस्था गरेर राखिदिनुभएको छ ।” उनले आफू १४ वर्षका उमेरमा यहाँ आएको सुनाए ।
“घरको अवस्था त्यस्तै थियो, मजदूरी खोज्दै यही होटलमा पुगे”, उनले भने,“ शुरुदेखि यो होटलभन्दा अन्त काम गर्न गएको छैन ।” उनले नैनीताल पर्यटकीयसँगै शैक्षिक हिसाबले पनि हब नै भएको बताए । रासस
“हुनेखाने सम्पन्न नेपालीका छोराछोरी यहाँ अध्ययनका लागि आउछन्”, उनले भने, “गरिबीको रेखामुनि रहेका भारी बोक्न ।” उहाँले शैक्षिक दृष्टिकोणले नेपालीको रोजाइमा पनि नैनीताल पर्दै आएको बताए ।
सुदूरपश्चिम र कर्णालीका क्षेत्रमा अधिकांश नागरिकको रोजगारीको प्रमुख गन्तव्य सदियौँदेखि भारतका विभिन्न क्षेत्र रहँदै आएको छ । कोरोनाको तेस्रो लहर आउनसक्ने चर्चा चलिरहँदा पश्चिमीका गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक दुई हजारको हाराहारीमा नेपाली रोजगारीका लागि भारत गइरहेका छन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij