
सोमवार , श्रावण २५, २०७८
राँझा, २५ साउन : बाँकेमा समस्याको रुपमा रहेको बालविवाह अन्त्यको लागि स्थानीय सरकारले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् ।
कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त वडा घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए। सो नगरपालिकाले बालविवाहमुक्त अभियान निर्देशिका २०७६ अनुसार नगरका सबै वडालाई बालविवाहमुक्त गर्ने गरी सचेतना अभियान सञ्चालन गर्नुका साथै सरोकारवाला निकायसँग आवश्यक छलफलका साथ अगाडि बढेको उनको भनाइ छ ।
“गतवर्षको चैत १९ गतेका दिन कोहलपुर नगरपालिकाले एकैदिन वडा नं १२ र वडा नं। १३ लाई बालविवाहमुक्त वडा घोषणा गरेका थियौंँ”, उनले भने,“अहिले वडा नं १ लाई पनि बालविवाह वडामुक्त घोषणा गरी अर्को सफलता पाएका छौं भने अब केही दिनमानै वडा नं ३ लाई पनि बालविवाहमुक्त वडा घोषणा कार्यक्रम गरिने छ ।”
बालविवाह घरेलु हिंसाको प्रमुख कारण रहेकोले यसको अन्त्यको लागि गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्माले बताए । हालसम्म गाउँपालिकाको एउटा वडा बालविवाहमुक्त घोषणा गरिसकेको र छिट्टै अर्का वडा पनि घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
खजुरामा वडास्तरबाटै बालविवाह विरुद्धको अभियान सञ्चालन भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । वडालाई बालविवाहमुक्त गर्न बनेको कार्यविधिको मापदण्डअनुसार अभियान सञ्चालन भइरहेको बताउँदै छिट्टै गाउँपालिकालाई नै बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ काम भइरहेको अध्यक्ष कक्षपतिले उल्लेख गरे ।
विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६।०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी, र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरुको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए ।
स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत वडास्तरमा स्थानीय तहले सञ्चालन गरेको बालविवाह विरुद्धको अभियानमा साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १० वटा वडा बालविवाहमुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।
उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका– ४ वटा वडा, कोहलपुर नगरपालिकाका– ३ वटा वडा, खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका एक एक वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३, बैजनाथको वडा नं ५ र जानकीको वडा नं १ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।
वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्य सम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।
बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । सो परियोजनाले आर्थिक वर्ष २०७७÷७८को असार मसान्तसम्म जिल्लामा कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य रहे पनि कोरोना भाइरस महामारीका कारण प्रभावित हुन पुगेको स्याकका अध्यक्ष पाण्डेले बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij