
मंगलवार , श्रावण २६, २०७८
बुटवल । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड भएको छ। सत्तारूढ दल निकटका विद्यार्थी संगठनका बिद्यार्थीहरुले तोडफोड गरेका हुन्। आन्दोलनरत बिद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा,प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।
नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ पार्टी निकट बिद्यार्थी संगठनहरुको अगुवाइमा गरिएको तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ ।
उनीहरुले लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन नहुने र सेमेस्टर प्रणाली खारेजीको माग गरेका थिए । क्याम्पस संचालक समितिले सेमेस्टर प्रणाली हटाउन नसकिने र विश्व विद्यालयमा जाने तयारी रोक्न नसकिने बताएपछि बिद्यार्थी संगठनहरुले तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ।
सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन गराउन थालेपछि राजनितिक क्रियाकलाप गर्न नपाएका कारण बिद्यार्थी संगठनहरु क्याम्पस प्रशासनसँग रुष्ट छन्। विद्यार्थी संगठनका कार्यकर्ताहरुले लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्चि तोडफोड गर्नुको साथै महत्वपूर्ण कागजातहरु समेत छरपस्ट पारेर भागेको त्यहाँका कर्मचारीले जानकारी दिए।
यसअघि साउनको ८ गते नै लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय अनेरास्ववियुबाहेक चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका थिए। विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयां थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दबाब दिँदै आन्दोलन गर्दै आएका थिए।
विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि संचालन भइरहेका विविएस र एमबीएसका पठनपाठन संचालन गर्नुपर्ने र एमबीए, वीवीए, एमबीएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका थिए। अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।
लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाः कार्यक्रम र हटाई पूर्णरुपमा स्वायत्तताका कार्यक्रम संचालन गरी क्याम्पसलाई मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने थलो बनाउन लागेको विद्यार्थी संगठनहरुको आरोप छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij