
मंगलवार , श्रावण २६, २०७८
बुटवल, २६ साउन ।
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तगत बुटवलको राजमार्ग चौराहा–चिडिया खोला सडक विस्तारको काम खण्डखण्डमा गर्न बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आग्रह गरेको छ । सडक पूर्वाधार बिस्तारको काम नाली खन्ने र निर्माण सामग्रि लामो समयसम्म सडकमै रहँदा व्यापार व्यवसाय र दैनिक कामकाजमा समेत अवरोध हुने बताउँदै संघले खण्ड खण्डमा विभाजन गरेर काम गर्न आग्रह गरेको हो ।
संघले सोमबार सडक डिभिजन कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाउँदै बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकमा जताततै खाल्डाखुल्डी हुँदा आवतजावतमा समेत समस्या भएकोले त्यसलाई समेत व्यवस्थित गर्न ध्यानाकर्षण गराएको छ ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मसासिनीलाई ज्ञाप पत्र बुझाउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यापारिक मार्ग अन्तरगत चौराहादेखि गोलपार्क खण्डमा बिस्तारको काम सुरु भएको र त्यसलाई खण्ड खण्डमा काम गर्न आग्रह गरे । त्यसै गरी चौराहादेखि गोलपार्कसम्मको मुख्य सडकमै जताततै खाल्डैखाल्डा हुँदा आवतजावतमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत उत्तिकै भएकाले समयमै मर्मत सम्भारमा ध्यान दिन उनले आग्रह गरे । उनले सडक विस्तारमा गुणस्तरमा समेत विशेष ध्यान दिन आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले उद्योगी व्यवसायीहरुको सुझाव सल्लाह अनुसार सडक विस्तारको काम पार्टपार्टमा गरिने बताउँदै चौराहादेखि अस्पताल लाईन श्रवणपथसम्म एक पार्टमा हुने जानकारी दिए । श्रवणपथदेखि गोलपार्कसम्म अर्को पार्टमा काम हुने बताउँदै गोलपार्कदेखि श्रवणपथसम्मको नालीलाई श्रवणपथ हुँदै सुखौरा खोलामा मिसाउने र श्रवणपथदेखि चौराहासम्मको नालीलाई चौराहादेखि बुटवल धागो कारखाना हुँदै सुखौरा खोलामा नै मिसाइने उनले बताए । त्यसै गरी सडकपश्चिमको नालीलाई तिनाउ नदीमा व्यवस्थित गरिने समेत उनले बताए ।
सडक क्षेत्राधिकारको जग्गा अधिग्रहणको काम लगभग सकिएको बताउँदै उनले अव १÷२ वटा मात्रै घरको काम बाँकी रहेकाले अब सडक बिस्तारको काम अगाडि बढ्ने उनले उल्लेख गरे । सम्झौता अनुसार बुटवल गोलपाक (चिडिया खोला) सडक निर्माण आगामी असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण ६ महिना थप गर्दा २०७९ सालको पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने उनले बताए । सडक निर्माणमा सम्झौतापछि अदालतमा मुद्धा हुँदा विस्तारको काम समयमा सुरु हुन पाएको थिएन भने अदालतबाट अनुमति प्राप्त भएपछि पनि कोरोना महामारी तथा सडक क्षेत्राधिकारमा पर्ने जग्गा अधिग्रहणको काम समेत सकेर भर्खरै मात्र नाली खन्ने काम सुरु भएको छ ।
कार्यालय प्रमुख मरासिनीले खानेपानीको पाईपलाई फूटपाथमा राखिने र विद्युतसंग समेत सम्झौता भएकाले विद्युतको पोल व्यवस्थित गर्ने काम विद्युतले गर्ने जानकारी दिए । उनले सडक विस्तारको काम हुँदै गरेकाले अस्थायी रुपमा मर्मत सम्भारको काम भइरहेको र नियमित भइरहने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij