२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

इनरव्हील मिडटाउन बुटवलद्वारा वृक्षारोपण

मंगलवार , श्रावण २६, २०७८

भैरहवा, २६ साउन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको निलकण्ठ बाबाधाम परिसरमा सोमबार वृक्षारोपण गरिएको छ । इनरव्हील क्लब अफ मिडटाउन बुटवलद्धारा बाबाधाम परिसरमा वृक्षारोपण गरिएको हो । क्लबका सरस्वती ढुंगानाले क्लबको वार्षिक कार्ययोजना अनुसार नै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताइन् । वन  र वातावरण हाम्रो जीवनसंग प्रत्यक्ष जोडिएको र बुटवल क्षेत्रमै रहेको धार्मिक क्षेत्र पनि भएको हुँदा वृक्षारोपणका लागि धाम परिसर छनोट गरिएको ढुंगानाले बताइन् । 

धाम परिसरमा अम्बा, आँप, लिची, धुपी, हेबिस्कस, कल्की लगायत फूल तथा फलफूलका विरुवाहरु रोपिएको कार्यक्रम संयोजक तथा इनरव्हील क्लब अफ मिडटाउन बुटवलका पूर्व अध्यक्ष सरला भण्डारीले जानकारी दिइन् । बुटवल नर्सरीका सञ्चालक समेत रहेकी भण्डारीले विरुवाहरु आफै स्पोन्सर गरेकी हुन । सोही अवसरमा धामका अध्यक्ष देवमाया भट्टराई र उपाध्यक्ष चुरामणी पौडेललाई क्लबको तर्फबाट क्लबका अध्यक्ष ढुंगानाले धामलाई नगद ५ हजार ५ सय रुपैयाँ  हस्तान्तरण गरेकी थिइन् । 

सोही अवसरमा क्लबका सक्रिय सदस्य सीता खनालले धाममा ११ हजार १ सय १५ रुपैयाँ प्रदान गरी आजीन सदस्य बन्ने घोषणा गरेकी छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि निलकण्ढ बाबा धामका व्यवस्थापन समितिका अध्यक्ष देवमाया भट्टराईले वृक्षारोपण कार्यक्रमका लागी धामलाई छनोट गरेकामा धन्यवाद व्यक्त गर्दै रोपिएका विरुवाको निरन्तर निगरानी तथा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

विशिष्ट अतिथि धामका उपाध्यक्ष चुरामणी पौडेलले बुटवलमै रहेर पनि पछाडी परेको भाममा आएर पुण्य काम गरेको भन्दै क्लबको प्रशंसा गरे । ‘बुटवल उपमहानगरपालिकाभित्र रहेर पनि नीलकण्ठ धाम ओझेलमा छ,’ पौडेलले भने । धाममा १२ वर्षभन्दा तलका बटुक लिइ गुरूकूल सञ्चालन गरिएको बताउदै पौडेलले विद्याश्रममा देशका विभिन्न जिल्लाहरूबाट बटुकहरू आई पूर्ण रुपमा आवासीय निःशुल्क अध्ययन गरिरहेको उनले बताए । गुरूकूल विद्याश्रममा अहिले ४५ जना बटुकहरु रहेको उनले जानकारी दिए । 

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मिठ्ठु भण्डारी, पूर्व अध्यक्षहरु तिर्सना श्रेष्ठ, राधा भट्टराई, लक्ष्मी क्षेत्री, पुष्पा श्रेष्ठ, सरला भण्डारी लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रम संयोजक सरला भण्डारीको स्वागत तथा क्लबका सह–सचिव गीता खनालको सञ्चालनमा सम्पन्न भएको थियो । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने भावनाका साथ स्थापना भएको महिलाहरु मात्रै आबद्ध क्लबले बिभिन्न सामाजिक कार्य गर्दे आएको छ ।