
मंगलवार , भाद्र २३, २०७७
सिओल, २३ भदौ ।
कोरियामा प्रवासी मजदुरले स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।
प्रवासी मजदूरका पक्षमा वकालत गर्दै आएको संस्था प्रवासी श्रमिक युनियन (एमटियु) र कोरियाको प्रजातान्त्रिक मजदुर संगठन (केसिटियु)को सक्रियतामा मंगलवारबाट उक्त अभियान सुरु गरिएको एमटियुका अध्यक्ष उदय राईले जानकारी दिए । उनले कोरियाको संविधानको धारा १५ मा मजदुरले स्वेच्छाले आफ्नालागि काम छनोट गर्न पाउने गरी स्पष्ट व्यवस्था गरिए पनि यहाँको सरकारले आफ्नै संविधानको पालना नगरी प्रवासी मजदूरलाई असमान व्यवहार गरिरहेको बताए ।
उनी भन्छन,‘कोरियाको संविधानमा समेत मजदूरले आफ्नै इच्छाले काम छनोट गर्न सक्ने व्यवस्था छ । योबाहेक कोरियाको समानता सम्बन्धि कानुनमा पनि मजदुरलाई भेदभाव गर्न नपाउने उल्लेख छ । ’
यस अघि एमटियु लगायत मजदुर अधिकारवादी संस्थाले प्रवासी मजदूरले स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै यहाँको संवैधानिक अदालतमा मुद्धा दायर गरिसकेका छन् ।
सरकाले आफ्नै मजदुर कानुनको पूर्ण पालना गर्नुपर्नेमा त्यसो नगरिएकाले संविधानको पुर्ण पालना गर्नुपर्ने फैसला गर्न माग गर्दै उक्त मुद्धा दर्ता गरिएको राईको भनाइ छ ।
कोरियामा ईपियसमार्फत रोजगारीका लागि आउने विदेशी श्रमिकले कार्यस्थल परिवर्तन गर्न चाहेमा रोजगारदाताको स्वीकृती लिनुपर्ने सरकारी व्यवस्था छ । जसका कारण प्रवासी मजदुर शोषणमा पर्ने गरेको भन्दै प्रवासी मजदुर युनियनले निरन्तर आवाज उठाउँदै आएको छ ।
यो नियम लागु भएमा कोरियामा कार्यरत करिब ४० हजार ईपियस श्रमिक लाभान्वित हुनेछन् । संकलित हस्ताक्षर कोरियाको संवैधानिक अदालतमा बुझाइने युनियनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij