२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

प्रदेशसभा भवन अत्याधुनिक, ब्यबस्थित र उत्कृष्ठ बनाउन बिज्ञहरुसँग छलफल 

शुक्रवार , श्रावण २९, २०७८

बुटवल, २९ साउन । दाङ्गको राप्ती उपत्यकामा निर्माण भैरहेको लुम्बिनी प्रदेश सभा भवनको दोश्रो चरणको आन्तरिक ब्यबस्थापनसहितको निर्माण कार्यका लागि आवश्यक परामर्श र सुझाव संकलनका लागि बिज्ञहरुसँग छलफल शुरु गरिएको छ । 
राष्ट्रिय र अन्तराष्ट्रियस्तरका बिभिन्न मुलुक र प्रान्तहरुका संसद भवनहरुको अध्ययन गरि नेपालका सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशको संसद भवनलाई पहिलो र उत्कृष्ठ बनाउने उद्देश्यका साथ विज्ञहरुसँग परामर्श शुरु गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश सभा भवनको आन्तरिक ब्यबस्थापन र प्रबिधि चुस्तदुरुस्त बनाउने, फर्निसिंग, सिट प्लानिङ्ग, बिद्युतीकरण, माईक साउण्ड र पुर्ण वातावनुकुलित बनाउने बिषयमा उच्च प्रबिधियुक्त कसरी बनाउन सकिन्छ भनेर सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुसँग छलफल शुरु गरिएको प्रदेश सभाका प्रबक्ता एवं उपसचिव रमेश गौतमले बताएका छन्। 

यसका लागि आर्किटेक ईन्जिनियर, सिभिल ईन्जिनियर, साउण्ड इन्जिनियर, एसि प्राबिधिक, ईलेक्ट्रिकल ईन्जिनियर, फर्निचर डिजाईनरलगाएत सम्बन्धित पक्ष र बिज्ञ ब्यक्तित्वसँग छलफल गरिएको उपसचिव गौतमले बताए।  प्रदेश सभा भवन र प्रदेश सभा सचिवालयलाई सार्थक, आकर्षक र भब्य बनाउन आवश्यक आधारभुत कुराहरुका बारेमा बिशेष चासोका साथ हेरिएको र सातवटा प्रदेश मध्ये उत्कृष्ठ र छिटो बनाउने योजनाका साथ अघि बढिएको पनि उपसचिव गौतमले जानकारी गराएका छन्। 

हाल निर्माणाधिन संसद भवनमा कस्तो सामाग्री र कस्तो प्रबिधि प्रयोग गर्ने भन्ने बिषयमा बिभिन्न मुलुक र प्रान्तहरुका नमुना संसद भवनको अध्ययन गर्ने काम भैरहेको छ । पहिलो चरणको निर्माण सम्पन्न हुनासाथ दोश्रो चरणको काम शुरु गर्ने योजना रहेको समेत जानकारी गराउदै उपसचिव गौतमले प्रदेश सभा सचिवालयसँगै कम्पाउण्ड वाल, गार्ड रुम लगाएतका संरचना निर्माणको काम पनि अव छिटै शुरु गरिने समेत जानकारी दिएका छन्। दोश्रो चरणको निर्माणका लागि आवश्यक बजेटको ब्यबस्था भैसकेको उपसचिव गौतमले जानकारी गराए। 

यसै आर्थिक बर्ष निर्माण सम्पन्न गरि प्रदेश सभाको अधिबेशन संचालन गर्ने लक्षका साथ निर्माण कार्य अघि बढाइएको लुम्बिनी प्रदेश सभा भवनको निर्माण सम्पन्न भएपछि नेपालकै पहिलो र नमुना संसद भवन बन्ने बिश्वास गरिएको छ । 

स्थापना कालदेखि हालसम्म आईपुग्दा कानुन निर्माण, पुंजिगत खर्च लगाएतका बिषयमा अग्रपंक्तिमा रहेको लुम्बिनी प्रदेश अत्याधुनिक र सुबिधासम्पन्न नमुना प्रदेश सभा बनाउने सवालमा पनि अग्रपंक्तिमै रहने लक्षका साथ अघि बढिरहेको छ।