
शुक्रवार , श्रावण २९, २०७८
भैरहवा, २९ साउन ।
शुक्रबारदेखि जेसीज सप्ताह–२०२१ सुरु भएको छ । पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगर–१, पक्लिहवाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै सप्ताह सुरु गरिएको जेसीज सप्ताह निर्देशक दिपक काफ्लेले बताए । पक्लिहवा मा.वि.मा कक्षा ६ देखि ९ सम्म अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको काफ्लेले जानकारी दिए ।
सप्ताहको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सांसद खानले जेसीजले बिना स्वार्थ सेवा भावले काम गर्दै आएको बताए । उनले जेसीज सामाजिक सेवासंगै अब जनप्रतिनिधिलाई जवाफदेही बनाउने खालका कार्यक्रममा केन्द्रीत हुनुपर्नेमा जोड दिए । नेता खानले जेसीजमा आबद्ध १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुले पनि राजनीतिप्रति चासो देखाउनुपर्नेमा जोड दिए । राजनीतिक नेतृत्व, प्रतिनिधि सक्षम भए उसले समाज रुपान्तरणका लागि खाका प्रस्तुत गर्छ, उनले भने । शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार भए त्यसले भ्रष्टाचारलाई पनि न्यनीकरण गर्ने उनको भनाइ थियो ।
त्यस्तै नेपाल जेसीज वर्ष २०२१ का कार्यकारी उपाध्यक्ष भोजराज चापागाईले सामाजिक रुपान्तरणमा जेसीजको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले जेसीजले अब राष्ट्रिय मुद्दामा पनि चासो राख्न आवश्यक रहेकोमा जोड दिए । नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवालीले कोभिड–१९ को समयमा पनि जेसीआई सिद्धार्थ, नेपालले धेरै राम्रा कार्य गरेको बताए । उनले नेपाल जेसीजले वर्ष २०२१ लाई ‘तालिम वर्ष’ को घोषणा गरी अगाडी बढेको बताए ।
जेसीआई सिद्धार्थका मानार्थ सदस्य डा. गोविन्द वल्लभ भट्टले शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । उनले जेसीज सप्ताहको सफलताको कामना गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले जेसीआई सिद्धार्थ, नेपालसंग सिद्धार्थ उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको बताए । उनले युवाहरुलाई उद्यमशिलतातर्फ लैजान संघ लागिपरेको बताए ।
तिलोत्तमा जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव शर्माले जेसीआई सिद्धार्थले पवित्र कार्य गरी जेसीज सप्ताहको शुभारम्भ गरेको बताए । उनले शैक्षिक सामग्री वितरण गर्नु आफैमा राम्रो कार्य भएको चर्चा गरे ।
जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष सुशिल गुरुङले जेसीज सप्ताह नेपालीहरुको महान चाडपर्व जस्तै मनाउँदै आएको बताए । उनले शैक्षिक सामग्रीले विद्यार्थीहरुको पठनपाठनमा टेवा पुर्याउने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले स्थापना कालदेखि नै जेसीआई सिद्धार्थले सामाजिक कार्य गर्दै आएको र त्यो समाजका लागि महत्वपूर्ण रहेको बताए । उनले शैक्षिक सामग्रीको अभावमा पठनपाठनमा समस्या रहेका विद्यार्थीहरुलाई सहयोग पुग्ने बताए ।
जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष मंगल भण्डारीले जेसीज सप्ताहको सफलताको शुभकामना व्यक्त गरे । उनले आजको बालबालिका भोलि जेसीजमा आबद्ध भएर सामाजिक कार्यमा लाग्ने विश्वास व्यक्त गरे ।
जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले जेसीआई सिद्धार्थले दोस्रो लहरको कोभिड–१९ महामारीमा अस्पताल तथा आइसोलेशन सेन्टरमा विरामी तथा विरामी कुरुवाहरुलाई खाना, रिक्साचालकको उपचारका लागि आर्थिक सहयोग तथा उनको परिवारलाई खाद्यान्न सामग्री प्रदान, वृद्धाआश्रमलाई सहयोग, सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण लगायतका कार्यक्रम गरेको बताए । जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, प्रदेशसभा सदस्य फखरुद्दीन खानको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक दीपक सापकोटाको स्वागत, अर्जुन कुंवरको आस्था पाठ तथा महासचिव सागर पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
भदौ ५ गतेसम्म सञ्चालन हुने सप्ताह अन्तर्गत साउन ३० गते उत्प्रेरणात्मक तालिम, ३१ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, ३२ गते चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम, भदौ १ गते निःशुल्क दन्त शिविर, २ गते खुल्ला कविता प्रतियोगिता र भदौ ५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने जेसीआई सिद्धार्थ, नेपालका पर्यवेक्षक सदस्य प्रमोज रिजालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij