
शुक्रवार , श्रावण २९, २०७८
भैरहवा, २९ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले मेलमिलापकर्ताहरुलाई सपथग्रहण गराएको छ । नगरपालिकाले सञ्चालन गरेको मेलमिलाप सम्बन्धी तालिम लिएका मेलमिलापकर्ताहरुलाई सपथग्रहण गराइएको हो ।
शुक्रबार सिद्धार्थनगर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा काफ्लेले सपथ गराएकी हुन् । सामुदायिक मेलमिलापसम्बन्धी प्रक्रियाको सिलसिलामा कुनै पक्षप्रति मरमोलाहिजा नराखी, पक्षपात नगरी, गोपनीयता र निष्पक्षता कायम गर्दै न्यायिक प्रक्रियाप्रति सम्मान तथा समपर्णको भावना राख्न सपथ गराइएको हो ।
त्यस्तै, नेपालको संविधान, मेलमिलाप सम्बन्धी ऐन–२०६८ तथा मेलमिलाप सम्बन्धी नियमावली–२०७०, स्थानीय सरकार संचालन ऐन–२०७४ अधिनमा रहेर मेलमिलापकर्ताको काम गर्न सपथ ग्रहणले सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख हरिप्रसाद अधिकारी प्रचलित ऐन र कानूनको आधारमा रहेर आफूलाई जुनसुकै बेला दिइने जिम्मेवारी पूरा गर्न आग्रह गरे । उपप्रमुख उमा काफलेले आफ्नो गाउँ÷टोलको समस्या समाधान गर्न मेलमिलापकर्ताहरुको भूमिका अहम् रहने भएकाले सोहीअनुसार काम गर्न आग्रह गरिन् । यसअघि असार महिनामा नगरपालिकाका ३३ जना स्थानीयलाई मेलमिलापसम्बन्धी आठ दिने तालिम दिइएको थियो ।
नगरपालिकाका न्यायिक समिति सदस्य एवं सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य उमेश थापा मगरको स्वागत तथा मेलमिलाप समिति संयोजक भीष्मराज पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij