२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

‘भूमि आयोग विघटन गर्ने सरकारको निर्णयले भूमिहिनलाई अन्याय’

एक लाख हस्ताक्षर बुझाइयो

सोमवार , श्रावण ३२, २०७८

भैरहवा, ३२ साउन । 
भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयले भूमिहिनलाई अन्याय गरेको भन्दै अविलम्व उक्त निर्णय सच्याउन अखिल नेपाल किसान महासंघले माग गरेको छ । राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको यो निर्णयले भूमिहिनमाथि अन्याय भएको भन्दै आयोग विघटन गर्ने निर्णय सच्याउन महासंंघले माग गरेको हो ।

सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै महासंघले आयोग विघटन गर्ने सरकारको निर्णयले भूमिहिन फेरी जमिन पाउने अधिकारबाट वञ्चित भएका कारण उक्त निर्णय सच्याउन माग गरेको हो । 

सरकारको यो निर्णयले भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासको कारण जोखिमपूर्ण जीवन बिताउन बाध्य समुदायप्रति अन्याय भएको अखिल नेपाल किसान महासंघका रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थीले बताए । भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन, मुक्त कमैया, कमलरी, हरुवा र चरुवा, हलिया, भूमिहिन सुकुम्बासी पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्नै संवैधानिक व्यवस्था अनुसार आयोग गठन गरिएको उनले बताए ।

समन्यायिक वितरण र दिगो व्यवस्थापनका लागि २०७७ चैत ९ गते आयोग गठन गरिएको थियो, भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्ने सुनिश्चितताको आधारसंगै देशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको भूमिसम्बन्धि समस्या निरुपण हुन आवश्यक थियो,’ ज्ञापनपत्रमा उल्लेख छ ।

‘नेपालको संविधानले प्रदत्त गरेको अधिकार अनुसार गठन गरिएको आयोगले धमाधम काम गरिरहेको सबै स्थानीय तहसंग कार्यसम्पादन सम्झौता समेत गरी भूमिहिनको लगत संकलन, प्रमाणीकरण गरी भूमिहिनलाई जमिन वितरण गर्न आवश्यक जमिनको चाजोपाजो समेत मिलाएको अवस्थामा आयोग विघटन गर्ने सरकारले निर्णयले भूमिहिन फेरी जमिन पाउने अधिकारबाट वञ्चित भएका छन्, ’ज्ञापनपत्रमा भनिएको छ ।

भूमि सम्बन्धि समस्या समाधान आयोग विघटन गर्ने निर्णयको विरोधमा महासंघको अनुगवाईमा संकलित एक लाख हस्ताक्षर रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला उपाध्यक्ष लक्ष्मण भण्डारीले बताए ।ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने बताए ।

ज्ञापनपत्र तथा हस्ताक्षर हस्तान्तरण कार्यक्रममा अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष खड्क खड्का, महासंघका स्थायी समिति सदस्य तथा रुपन्देही इञ्चार्ज कविराम अर्याल, जिल्ला सह–इञ्चार्ज चुमकला बस्याल, सचिव मधुकला कुंवर, भूमि सम्बन्धि समस्या समाधान आयोग रुपन्देहीका पूर्व अध्यक्ष बल बहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो ।

IMG_2187.JPG