
सोमवार , श्रावण ३२, २०७८
भैरहवा, ३२ साउन ।
सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र बस्ने अपांगता भएका व्यक्तिहरुलाई सोमबार अपांगता परिचयपत्र वितरण गरिएको छ । अपांगता परिचयपत्र वितरण समितिका संयोजक तथा नगर उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको वितरण कार्यक्रममा समितिका सदस्य रुपा बराइली, भिम बहादुर थापा, शुभम शर्मा, तुल्सीराम ओली, समिता आचार्य, कौशल्या चौधरीको उपस्थिति रहेको थियो । त्यसै गरी आमन्त्रितमा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वरिष्ठ अधिकृत विवेक खनाल, कमलकान्त खनाल लगायत रहेका छन् ।
आइतबार र सोमबार गरी दुई दिनसम्म गरिएको वितरण कार्यक्रममा पहिलो दिन क वर्गका १ जना, ख वर्गका १४ जना र ग वर्गका ९ जना अपांगता गरी २४ जनाले परिचयपत्र लिएको समिति सदस्य कौशल्या चौधरीले बताइन् । बाँकी रहेका अपागंताहरुको लागि सोमबार वितरण गरिएको चौधरीले जानकारी दिइन् । वितरण गरिएका २८ जनामा क वर्गका ७ जना, ख वर्गका २० जना र ग वर्गका १ जना गरी नगरमा जम्मा ५२ जनाले परिचयपत्र लिएको समिति सदस्य चौधरीले बताइन् । पूर्ण अशक्त अपांगता, अति अशक्त अपागंता, मध्यम अपांगता र सामान्य अपांगता गरी ४ किसिममा वर्गिकरण गरी मापदण्ड समेत तोकिएको छ । जसअनुसार क र ख वर्गका अपांगता भएकाले मात्र अपांगता भत्ता पाउने चौधरीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij