
मंगलवार , भाद्र १, २०७८
बुटवल, १ भदौ ।
लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्ण बहादुर घर्तीलाई आज पत्र बुझाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको जानकारी दिए ।
‘उहाँहरुले पार्टीको नीति निर्देशन मान्नु भएन पार्टीको ह्विपविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशनविपरीत नवगठित मन्त्रीपरिषद्मा सहभागि हुने गरेकोले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौं, ’ढकालले भने ।
अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ (ख) बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने विमला खत्री वली एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित भएकी थिइन् ।
शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने विमला खत्री वली कहिले एमाले कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन् । एमाले सांसदलाई मन्त्रीमा सपथ खुवाएको भन्दै एमालेले प्रदेश प्रमुख अमिक शेरचनको समेत आलोचना गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij