२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यटन तथा यातायात व्यवसायीहरुलाई राहत प्रदान गर्न माग

बिहिवार , भाद्र २५, २०७७

भैरहवा, २५ भदौ । 
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले पर्यटन तथा यातायात उद्योगी व्यवसायीहरुलाई राहत प्रदान गर्नुपर्ने माग गरेको छ । संघले समस्या समाधानका लागि सम्बन्धित निकायहरुमा  आवश्यक पहल गरिदिन समेत माग गरेको छ । 

बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै संघले पर्यटन, यातायात क्षेत्रका उद्योग÷व्यवसायका राहत पुर्नउत्थानका लागि तत्काल व्याजदरमा सहुलियत दिदै साँवा तथा ब्याज भुक्तानीको लागि मौद्रिक नीतिमा उल्लेख भए बमोजिम दुई आर्थिक वर्षसम्म ऐच्छिक हुने गरी  पुर्नतालिकिकरणको समयावधि प्रदान गर्न माग गरेको छ ।

राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक राजेन्द्र भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै संघले आर्थिक गतिविधिमा आइरहेको सुस्तता एवं पर्यटन तथा यातायात क्षेत्रमा देखिएको असहजताका साथै समग्र वस्तुस्थितिलाई ध्यानमा राखी पर्यटन, यातायात क्षेत्रका उद्योग/व्यवसायका राहत पुर्नउत्थानका कार्यक्रम ल्याउन माग गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा संक्रमण नियन्त्रणको लागि नेपाल सरकार, स्थानीय प्रशासन एवं सुरक्षा निकायबाट गत चैत्र ११ गतेदेखि जारी गरिएको करिब ६ महिना लामो लकडाउन तथा निषेधाज्ञाको कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र र यातायात व्यवसाय क्षेत्र निकै मारमा परेको कारण कतिपय उद्योगी व्यवसायीहरु व्यवसायबाट पलायन हुने वा टाट पल्टने अवस्थामा पुगिसकेका संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।

आ.व. २०७७/०७८ को राष्ट्र बैकबाट जारी मौद्रिक नीतिले केही हदसम्म राहत तथा पुर्नउत्थान प्याकेज घोषणा गरिसकेको अवस्थामा अझसम्म पनि कतिपय उद्योगी व्यवसायीहरुलाई सहज रुपमा त्यो प्राप्त हुन नसकेको तथा राष्ट्र बैंकको निर्देशन अनुसार पनि कतिपय बैंक तथा वित्तीय संस्थाहरुले ब्याज, किस्ता तथा साँवा भुक्तानीको लागि फोन गरी मानसिक तनाव दिँदा पर्यटन तथा यातायात व्यवसायीहरुमा नकारात्मक प्रभाव पर्न गएको छ, ज्ञापनपत्रमा उल्लेख छ ।