
बिहिवार , भाद्र २५, २०७७
बुटवल, २५ भदौ ।
कोरोना भाइरस संक्रमणबाट सचेत बनाउन रुपन्देहीको बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा एक हप्ते माइकिङ गरिएको छ । कोरोना भाइरस संक्रमणबारे आम नागरिकलाई सचेत गराउने उद्देश्यका साथ अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही एकहप्ते सचेतनामूलक माइकिङ गरेको हो ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लबमार्फत कोरोना भाइरसविरुद्ध पहिलो चरणको कार्यक्रम सकिएको बताए । पहिलो चरणमा विभिन्न संचारगृह, सुरक्षा निकायलाई हेन्डवास मेशिन, मास्क वितरण, अन्तरक्रिया र माइकिङका कार्यक्रमहरु गरेको उनले बताए । घरदैलोमा माइकिङ गरिदा धेरै प्रभावकारी भएको उनको दावी छ ।
विश्वमा कोरोना भाईरसको कुनै खोप र औषधी तयार नभएको अवस्थामा आत्म सुरक्षा नै पहिलो हतियार भएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । कोभिडविरुद्ध जनचेतना जगाउने, स्वअनुसासन साथै स्वास्थ्यको मापदण्ड पालना गर्दै अघि बढे विस्तारै न्युनीकरण हुने समेत उनले आशा व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले विहिबार कार्यक्रमको उद्घाटन गरेका थिए । समापन कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले आगामी दिनमा थप रचनात्मक कार्यहरु गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij