
बुधवार , भाद्र २, २०७८
भैरहवा, २ भदौ । नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना) र इनरव्हील क्लब अफ लुम्बिनीले भैरहवास्थित भीम अस्पताललाई कोभिड–१९ बेबी केयर इन्कुवेटर प्रदान गरेको छ । नमुना र इनरव्ही क्लबले बुधबार एक कार्यक्रमकाबीच अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले अस्पताललाई अत्यावश्यक सामग्री प्रदान गर्ने नमुना र इनरव्हील क्लबलाई धन्यवाद दिदै सामग्रीको सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउन सम्पूर्ण क्षेत्रबाट सहयोग आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष भण्डारीले कोभिड–१९ महामारी अघि सरकारी अस्पताललाई हेर्ने दृष्टिकोण फरक भए पनि पछिल्लो समयमा भने यो अस्पताललाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको बताए । ‘अस्पतालमा अक्सिजन प्लान्ट जडान हुँदैछ, त्यसका साथै विरामी कुरुवाका लागि प्रतिक्षालय पनि बनाउँदैछौ, ’उनले भने ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पताललाई उपलब्ध सामग्री सदुपयोग हुने बताइन् । उनले अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग गर्ने कार्य प्रशंसनीय रहेको बताइन् । नमुना एकीकृत विकास परिषद्का अध्यक्ष तथा इनव्हील क्लब अफ लुम्बिनीका संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले नारायण प्रसाद भण्डारी नेतृत्वको अस्पताल विकास समितिको टीमवर्कले अस्पतालमा धेरै परिवर्तन भएको बताइन् । उनले बेबी केयर इन्कुवेटरले बच्चाको जीवन रक्षा गर्ने बताइन् । पौड्यालले १ लाख ९५ हजार रुपैयाँ लागतको बेबी केयर इन्कुवेटर अस्पताललाई हस्तान्तरण गरेको बताइन् ।
इनरव्हील क्लब अफ लुम्बिनीका निवर्तमान अध्यक्ष रचना क्षेत्रीले पछिल्लो समय भीम अस्पताल व्यवस्थित हुँदै गएको बताइन् । उनले अस्पताललाई उपलब्ध गराइएको उपकरण हेर्दा सानो भए पनि यसको ठूलो महत्व रहेको बताइन् । इनरव्हील क्लब लुम्बिनीका पूर्व अध्यक्ष सीता भट्टराईको स्वागत तथा वर्ष २०२१/२२ का उपाध्यक्ष रुविता कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij