भैरहवा, २६ भदौ ।
विश्वराज बराल (अनुप) । तत्कालिन नेकपा (माओवादी) तथा हालको नेकपाका पुर्णकालिन कार्यकर्ता । जिम्मेवारीको हिसाबले नेकपाको प्रदेश नम्बर कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज । गएको संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार । झण्डै दुई दशक अगाडि तत्कालिन नेकपा माओवादीको चितवन जिल्ला शैन्य कमाण्डर थिए विश्वराज बराल (अनुप) । प्राथमिक तहको अध्ययन गर्दादेखि नै राजनीतिमा रुची राख्दै विद्यार्थी राजनीतिमा होमिएका अनुप अहिले पनि सक्रिय राजनीतिमै छन् । तत्कालीन नेकपा एमाले निकटको अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गरेका अनुपले २०५५ सालदेखि नेकपा माओवादीको पुर्णकालिन कार्यकर्ता भएर काम गरे । कास्कीको दुर्गम ठाँउ मादि गाउँपालिकामा जन्मिएका उनी पढ्दै राजनीति गर्ने क्रममा छोटो समयमा धेरै जिल्लाको राजनीतिक नेतृत्व तहमा बसेर काम गरे ।
२०४६ सालदेखि राजनीतिमा लागेका उनी २०५५ सालदेखि माओवादीको पुर्णकालिन कार्यकर्ता भएर काम गरेको बताउँछन् । तत्कालीन समयमा उनी विद्यार्थी इलाका अध्यक्ष, पार्टी सदस्य हुँदै पार्टीको जिल्ला सदस्य, विद्यार्थी जिल्ला अध्यक्षसम्म भएर काम गरेको अनुभव उनमा छ । २०५८ सालमा आइपुग्दा माओवादी सेनाको राष्ट्रिय भेलाबाट चितवन जिल्लाको सैन्य कमाण्डरको जिम्मेवारीमा बसेर काम गरेको अनुभव छ उनीसंग । एकवर्षे शैन्य जीवन बिताएपछि उनी २०५९ सालमा रुपन्देही आएको बताउँछन् । २०५९ सालमा उनी तत्कालीन समयमा बुटवल भैरहवा इञ्चार्ज, २०६३ सालमा नवलपरासीको पार्टी सचिव, २०६५ सालमा कपिलवस्तु सचिव हुँदै २०६९ सालमा पुनः रुपन्देही आए ।
माओवादी पार्टी फुट्दा मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टीमा गएका उनी वैद्यको विचार ठिक भए पनि अहिलेको समयमा विचारले मात्र काम नगर्ने भएकाले पुनः प्रचण्डले नेतृत्व गरेको माओवादीमा फर्किएको बताउँछन् । सिद्धान्त, विचार र आर्दशका हिसाबले म वैद्य समूहतिर लागेको थिए अनुपले खबरपात्रोसंग भने आर्दशले मात्रै मुलुक नचल्ने भयो, ‘हाम्रो राजनीति पनि नचल्ने भयो, त्यसपछि जनतालाई राहत र समृद्धिको यात्रामा लैजाने अठोटका साथ हामी पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वको नेकपा (माओवादी केन्द्र) मा फर्किएका हौ । तत्कालीन माओवादीमा रामबहादुर थापा ‘बादल’ निकट मानिने उनी बादलसंगै माओवादीमा फर्किएका थिए ।
लामो समयदेखि निरन्तर रुपमा राजनीति मात्रै गर्दै आएका अनुपको अहिले आफ्नो परिचयलाई फराकिलो बताएका छन् । राजनीतिले मात्रै आफ्नो जीवनशैली नचल्ने भएपछि उनले अहिले उनले आफ्नो परिचयलाई अलि फरक बनाएका बताउछन् । राजनीति मात्रै गर्ने व्यक्तिहरुको जीवनशैलीप्रति आम नागरिकको प्रश्न उब्जिरहेका बेला उनले आफ्नो राजनीतिक जीवनलाई समस्यामा नपार्ने गरी कृषि कर्ममा जुटेको बताउँछन् । लामो समयदेखि राजनीति मात्रै गर्दै आएका उनी र उनकी श्रीमती गंगा कार्की अहिले राजनीतिका साथै कृषि कर्ममा जुटेका हुन् । उनीहरुले अहिले रुपन्देहीको तिलोत्तमा–१४ मा रहेको १ कठ्ठा २ धुर आफ्नै जग्गामा कुखुरापालन गरिरहेका छन् ।
राजनीतिकर्मी पनि अब उत्पादनसंग जोडिएर समृद्धिको यात्रामा अगाडि बढ्नु पर्दछ भन्ने लागेका कारण आफु कुखुरापालन व्यवसायमा लागेको उनले बताए । आम नागरिकले नेताहरुको आर्थिक श्रोत र जीवनशैलप्रति प्रश्न चिन्ह उठाइरहेका छन्, यो राजनीतिकर्मीका लागि राम्रो प्रश्न होइन, बरालले खबरपात्रोसंग भने देखिने खालको आर्थिक श्रोतबाट अगाडि बढ्नुपर्छ भन्ने लागेर म र श्रीमती कुखुरापालनमा लागेका हौ । राजनीतिकर्मीहरु अब उत्पादनसंग जोडिनुपर्छ, उत्पादनसंग जोडिएर आएको आर्थिक स्रोतबाट जीविकोपार्जन गर्न सकियो भने नेताप्रति जनताको आशा र भरोसा विस्तारै बढ्दै जान्छ, उनले भने । समाजवादको कुरा गर्ने अहिलेका राजनीतिक दलले आफ्ना नेता तथा कार्यकर्तालाई उत्पादनसंग नजोड्ने हो भने कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।
उनीहरुले भरोसा कुखुरापालन फर्म दर्ता गरेर व्यवसायिक रुपमा कुखुरा पालन गरेका छन् । सुरुवाती लकडाउनको समयमा कुखुरापालनका लागि खोर निर्माण गरेका उनीहरुले असारमा चल्ला हालेका थिए । पहिलो लटमा १९२ वटा कुखुरा, ७९ वटा बट्टाई र ६ वटा कालो कुखुरा राखेको फर्मकी सञ्चालक गंगा कार्कीले उल्लेख गरिन । उनले फेरी १९१ वटा चल्ला राखेको बताइन् । जीवनलाई सहज बनाउनका लागि कुखुरापालन व्यवसायमा लागेका छौं, यद्यपि हाम्रो राजनीतिक यात्रा भने जारी नै छ, उनले भनिन् । समाजको नेतृत्व गर्ने मान्छेले जीवनलाई सहज तरिकाले जिउन कृषि नै राम्रो कार्य भएकोले यसमा लाग्यौं, उनले भनिन् । गंगा नेकपा रुपन्देही ३ क को ईन्चार्ज हुन् ।
उनीहरुले कुखुरापालन व्यवसायलाई विस्तार गर्दै लैजाने सोचमा रहेका बताए । ‘अहिले हामी सिकाइको क्रममा रहेका छौ, यसलाई राम्रोसंग हुर्काउन सकियो भने यसलाई थप व्यवस्थित रुपमा अलि ठूलो परिमाणमा कुखुरापालनमा लाग्ने बताए ।