
शनिवार , भाद्र ५, २०७८
बुटवल, ५ भदौ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा शुक्रबारदेखि पुनः गाउँ ब्लक जग्गाको नापजाँच सुरु भएको छ । सैनामैना नगरपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा नगरपालिकाको वडा नं ५ बुद्धनगरबाट नापजाँच सुरु भएको हो ।
जग्गा नापजाँचको शुभारम्भ गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले साविक दुधराक्ष गाबिस र हालको वडा नं ५, ६, ७, ८ र ९ का सम्पूर्ण पुराना थारु समुदायका गाउँ बस्तीहरुमा रहेका गाउँ ब्लक (डि–ब्लक) जग्गाहरुको नापजाँच सुरु गरिएको बताए । उनले जग्गा आवासका लागि योग्य भएको र सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको बताए । जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने प्रमुख कार्कीले बताए ।
साविक पर्रोहा र सालझण्डीमा रहेका गाउँ ब्लक जग्गा मापनको काम यसअघि नै सम्पन्न भइसकेको बताउँदै कार्कीले साविक दुधराक्ष गाविसमा प्राविधिक कारणले केही ढिला हुन पुगेको उल्लेख गरे । उनले दुई महिना भित्रमा वडा नं ५, ६ ८ र ९ को पूर्व पश्चिम राजमार्गको उत्तर भेगमा पर्ने गाउँ ब्लकहरुको जग्गा नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमार्ण पूर्जा वितरण गरिने बताए ।
नगरपालिकाका अनुसार करिब दुई महिनामा राजमार्गदेखि दक्षिणतर्फ पर्ने गाउँ ब्लक जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा उपलब्ध गराइने छ । नापी कार्यालय रुपन्देहीका प्रमुख अजित कुँवरले रुपन्देहीमा गत वर्षको एक हजार ३५० गाउँ ब्लक जग्गामध्ये एक सय गाउँ ब्लक जग्गाको काम भइरहेको बताए । उनले विशेष गरी दक्षिण भेगतर्फ गाउँ ब्लक जग्गाको नापजाँचको काम जनशक्तिको अभावका कारण हुन नसकेकोे उल्लेख गरे । कुँवरले सैनामैनामा वितरण गर्न बाँकी रहेको साविक दुधराक्षको ३७ विघा १२ कठ्ठा ६ धुर जग्गाको पूर्जा वितरणका लागि नगरपालिकाको पहलमा नापी विभागले काम सुरु गरेको बताए । उनका अनुसार अहिले सैनामैनामा ८ ब्लकको नापजाँच गरिने भएको छ । जसअन्तर्गत करिब चार सय गाउँ ब्लक जग्गाधनीहरु रहेका छन् । पहिले नापी गर्दा छुट भएको कित्तालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij