२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

उमेर नपुग्दै आमा बन्छन् किशोरी

बिहिवार , भाद्र १०, २०७८

रोल्पा, १० भदौ । रोल्पाका किशोरीको उमेर नपुग्दै विवाह हुने र  कम उमेरमा आमा बन्ने गरेका छन् । यसबाट उनीहरुमा मानसिक, शारीरिक तथा स्वास्थ्य समस्या देखिने थालेको पाइएको छ । जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनिका किशोरकिशोरीले गर्ने गर्दछन् भने करिब ७ प्रतिशत विवाह १५ वर्ष नपुग्दै हुने गरेको एक अध्ययनले देखिएको छ ।

गत वर्ष जिल्ला अस्पतालमा ३५४ ले प्रसूति सेवा लिए । तीमध्ये २० वर्ष मुनिका ५६ किशोरी रहेका बताइएको छ । तीमध्ये आठको सुत्केरीका क्रममा जटिलता देखिएपछि शल्यक्रिया गर्नुपरेको थियो । सोही अस्पतालमा सुरक्षित गर्भपतन  गराएका  १६७  मध्ये १७ जना २० वर्ष मुनिका किशोरी थिए ।

अनिच्छित गर्भधारण भएकामध्ये केही किशोरीले निजी क्लिनिकमा गएर गर्भपतन गराउने गरेको बताइएको छ । बालविवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको छ । किशोरीमा गर्भपतन गराउने दरसमेत बढ्न थालेको स्वास्थ्य कार्यालयको भनाइ छ ।

गतवर्ष जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराएका १४ हजार ८ सय ७० मध्ये एकहजार १२० जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालका अनुसार अघिल्लो  वर्ष  पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी  थिए ।  

गतवर्ष प्रहरीले मौखिक उजूरीका आधारमा ४३ बालविवाह रोकेको थियो । समुदाय तथा विद्यालयस्तरमा गठन भएका बाल क्लबले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई उजूरी दिने संयन्त्र बनाएका छन् । त्यही संयन्त्रले दिएको सुराकका आधारमा प्रहरीले बालविवाह रोकेको हो  । जिल्लामा बालविवाहविरुद्धको मुद्दा भने निकै न्यून देखिएको छ ।  जिल्ला प्रहरी कार्यालयले गतवर्ष बालविवाहको एउटा मात्रै मुद्दा परेको जनाएको छ । कन्यादान संस्कृतिले बालविवाहलाई बढवा दिइरहेको स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोख्रेलकोे भनाइ छ । उनले भने, “बालविवाहकै कारण जिल्लामा विद्यालय जाने उमेरका १० प्रतिशत बालबालिका अझै विद्यालय बाहिरै छन् । ” 

पढ्दापढ्दै विवाह गर्ने विद्यार्थी विवाहपछि कमैले मात्रै पढाइलाई निरन्तरता दिने गरेको पाइएको छ । यसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोर्होयाउने संख्या समेत घट्न सकेको छैन । कक्षा ५ मा छात्राको टिकाउ दर ९७.४ प्रतिशत रहँदा कक्षा ८ मा यो दर ९४.९ प्रतिशतमा झरेको देखिन्छ । कक्षा तथा उमेर बढ्दै जाँदा छात्राको टिकाउ दर घटिरहेको देखिन्छ ।

मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आर्चायका अनुसार सामाजिक सांस्कृतिक मूल्यमान्यताले बालविवाहलाई बढवा दिइरहेको छ । मौसमी बसाइँसराइ, गोठ बस्ने पराम्परा, मेला जात्राले जिल्लाका बालविवाहलाई प्रश्रय दिइरहेको छ उनको भनाइ छ ।  

सजातीय विवाह भएमा परिवारले सहजै स्वीकार्ने र अन्तरजातीय विवाह भए मात्रै प्रहरीमा उजूरी पर्ने गरेको दलित अधिकारकर्मी तथा पत्रकार मानसिंह विकको भनाइ छ । “अन्तरजातीय विवाहलाई स्वीकार नगर्ने परिवारमा मात्रै यस्तो विवाह बदर गर्न उजूरी पर्ने गर्दछ ।” उनले भने । जिल्लामा रोल्पा नगरपालिका र सुनिलस्मृति गाउँपालिकाले मात्रै बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाएर अघि बढेका छन् । ती निकायले पाँच वर्षभित्र आफ्नो स्थानीय तहलाई बालविवाहमुक्त बनाउने गरी योजना बनाए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । बालविवाह विरुद्ध सामान्य सचेतनाका कार्यक्रमबाहेक थप प्रभावकारी कार्यक्रम देखिदैनन् । रासस